गुल्मी पहिरो अपडेट : ६ सय परिवारलाई सुरक्षित स्थानमा सारियो, राहत सामाग्री बाटोमै अलपत्र

प्रकाशित मिति:

गुल्मी – ११ जनाको ज्यान जानेगरी गएको पहिरोले गुल्मीको सत्यवती गाउँपालिकामा करिब ६ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले करिब ४ सयजनालाई स्थानीय धर्मपूर मावि र अस्लेवाका सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाको भनाई छ । वडा नम्बर ४ को लिम्घामा दुई सय घरपरिवार जोखिममा रहेपछि स्थानीय सरस्वती माविमा सारिएको बताइएको छ । सिङ्दीको सिद्ध आधारभूत विद्यालय बगाएपछि विद्यालय आसपासका बासिन्दा पनि अन्यत्रै सारिएका छन् । विद्यालयका शिक्षक दुर्गा तरामुले विद्यालयको भवन, नजिकका घर र गोठ बगाएपछि आफूहरु ठाउँ छाडेर अन्यत्रै गएर बसिरहेको बताए । उनीहरुका लागि खाना, लत्ताकपडा र पानीको समस्या भएको छ । सिङ्दीका ८५ घरमध्ये ५५ घर पहिरोको जोखिममा छन् ।

सडक विच्छेद हुँदा राहत पुर्याउन समस्या – पहिरोका कारण सडक सम्पर्कबाट पूर्णरुपमा बिच्छेद हुँदा उद्धार र राहत वितरणमा कठिनाइ भएको छ । ठूलोलुम्पेक र लिम्घा जाने सबै सडक अवरुद्ध छन् । राहत बोकेका गाडीहरु शाहाघाट र रुद्रवेणीमै रोकिएका छन् । करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिए पनि खानेकुरा पुर्‍याउन नसक्दा बिचल्ली भएको छ । प्रभावित क्षेत्रका बाटाहरु बन्द हुनुका साथै २ दर्जन बढी सानाठुला पहिरो खसेको बताइएको छ । मंगलबार राति करिब ३ बजेको समयमा अविरल वर्षासँगै पहिरो खस्दा ११ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । प्रभावित क्षेत्रमा ३ सय बढी पशु चौपायाहरु मरेको अनुमान छ ।

हेलिकोप्टरमार्फत् राहत पुर्‍याउने योजना – पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएपछि उद्धार तथा राहतमा हेलिकोप्टर परिचालन गर्ने योजना बनाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । हेलिकप्टर प्रयोग गर्ने भनिएपनि मौषममा सुधार नआउदा केही समस्या उत्पन्न भएको उनको भनाई छ ।

चारजना अझै बेपत्ता – पहिरोमा परेर बेपत्ता भएका ४ जना अझै फेला पार्न सकिएको छैन । बेपत्ता रहेका सत्यवती गाउँपालिका ४ लिम्घाका ७ वर्षीया तारा बिक र डेढ वर्षीय सुमन बिक अझै पनि बेपत्ता छन्। यस्तै वडा नम्बर ३ ठूलोलुम्पेककी माया र बबी बिक पहिरोमा हराइरहेका छन् । वर्षा नरोकिएका कारण बेपत्ता भएकाहरुको खोजी गर्न समस्या भइरहेको प्रहरीको भनाई छ ।