नेकपा स्कुल विभाग प्रमुखका लागि योग्य यि तीनमा को ? के पार्टी एकता बिथोलिएला ?
बुटवल – नेकपाको छैठौँ र सातौ नम्बर वरियाताका नेताद्वय क्रमशः नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको पार्टी स्कुल विभाग प्रमुखको दाबीका कारण पार्टी एकता नै अवरुद्ध भएको छ । अहिले दुवै नेताहरू आ–आफ्नो खेमाका अध्यक्षलाई आफ्नो पक्षमा अडान राख्न दबाब दिइरहेको नेकपा स्रोतको दाबी छ। नेकपाका आम कार्यकर्ता र पार्टीबाहिरका नेकपा शुभेच्छुकहरू उक्त पदका लागि नेकपाभित्र एकमात्र योग्य नेता साविक एमाले उपमहासचिव घनश्याम भुसाललाई देखिरहेका छन्। नेपाल अध्ययन केन्द्र वा मार्क्सको द्वि–शतवार्षिकी समारोह जस्ता अनेक व्यानरमा मार्क्सवाद पढाउँदै आएका भुसालले पनि उक्त पदमाथि दाबेदारी प्रस्तुत गरेपछि विवादले नयाँ मोड लिएको हो।
सचिवालय सदस्यको भागशान्ति – सचिवालय बैठकमा दुई अध्यक्ष र महासचिवले कुनै पनि विभागको जिम्मा नलिने विधि बनाइएको थियो । त्यसपछि पार्टीका ३२ मध्ये छ वटा विभागलाई छानेर सचिवालयका छ नेतालाई बाँड्ने पनि त्यसअघिको सचिवालय बैठकले नै गरेको थियो। छ वटा विभागमध्ये चार वटा पूर्व एमाले र दुई वटा माओवादीलाई दिने पनि सचिवालयले तय गर्यो । एमालेको भागमा परेका विभागमध्ये विदेश विभाग प्रमुख फेरि वरिष्ठ नेता माधवकुमार नेपालले नै रोजेका छन् भने नीति अध्यययन प्रतिष्ठनको नेतृत्व अर्का वरिष्ठ नेता झलनाथ खनालको भागमा परेको छ। त्यस्तै, सङ्गठन विभाग प्रमुखको जिम्मा वामदेव गौतमलाई दिने सहमति भएको छ।
साविक एमालेका एक नेताले दिएको जानकारी अनुसार, सचिवालय सदस्यले रोजेका छ वटा विभागमध्ये विदेश, नीति अध्ययन प्रतिष्ठान, सङ्गठन र पार्टी स्कुल विभाग प्रमुख साविक एमालेलाई दिने र दुई विभागहरू आर्थिक र प्रचार विभाग सविक माओवादीलाई र बाँकीको बैठकमा माओवादीलाई दिने सहमति दुई अध्यक्षले गरे । तर, पार्टी एकताको सहमतिविपरीत अघिल्लो बैठकमा राजनीतिक प्रतिवेदनमा ‘जनताको बहुदलीय जनवाद’ लेख्नुपर्छ भन्ने मत राख्ने ईश्वर पोखरेललाई दिने देखिएपछि उनीभन्दा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उक्त विभागमाथि दाबी गरे। स्रोतको दाबी छ, ‘यो दाबी नारायणकाजीको मात्र हैन, ईश्वरलाई नदिने पक्षमा सिङ्गै साविक माओवादी र माधव नेपाल पक्ष पनि एकमत छ । ओली पक्ष पनि सम्पूर्ण रुपमा उनको पछि छैन । ईश्वरको विकल्प अघि सारेमा सविक एमाले नेतामै पनि माओवादीले सहमति जनाउँछ।’
पार्टी एकता बिथोल्ने प्रयास? पोखरेल पार्टी एकता गर्दा सबैभन्दा ‘घाटा खाएका’ एमाले नेता हुन् । उनलाई महासचिवबाट हटाएर विकल्पस्वरुप विष्णु पौडेललाई महासचिव बनाइएको हो । माओवादीको मूल्याङ्कनअनुसार, पोखरेलको प्रयास पार्टीएकता नै बिथोल्नेसम्मको थियो तर नसकेका मात्र हुन् । त्यसपछि पनि उनको भूमिका नेकपाले अघि सारेको नीति र एकताको भावनाअनुसारको छैन । त्यसैले उनले पार्टीको सिद्धान्त पढाउने स्कुल विभाग निष्पक्ष ढंगले चलाउन सक्दैनन्। माओवादीको तर्क अनुसार तीन जना वरिष्ठ नेताले रोजेको विभाग लिएपछि अर्को रोजेको विभाग त्यसपछिको वरिष्ठ नारायणकाजीले पाउनुपर्छ तर एमालेको तर्क फरक छ । पार्टी स्कुल विभागसमेत माओवादीलाई दिएपछि नेकपाको दुईतिहाइ हिस्सा ओगट्ने साविक एमालेसँग के बाँकी रहन्छ र?
दुई जना नेताको दाबीले पार्टी एकता प्रक्रिया नै अवरुद्ध भएको छ । साविक एमालेका एक जना केन्द्रीय नेता राजेन्द्र गौतम भन्छन्, ‘अब यो विषय नारायणकाजी र ईश्वरको मात्र रहेन । अब पोजिसन बनिसक्यो । दुबै पक्षका नेताहरू आ–आफ्नो पक्षका नेतालाई अडान नछाड्न दबाब दिन थालेका छन्।’ एमालेका प्रचार विभाग प्रमुख भइसकेका पूर्व सचिव योगेश भट्टराईको विचारमा भोलि पार्टी अध्यक्ष हुने सपना देख्ने सचिवालयका नेताहरूले यसरी पदमाथि दाबी गर्नु र यसका लागि नेतालाई दबाब दिनु उनीहरूको अयोग्यता हो । उनले काठमाडौँप्रेससँग भने, ‘दुवै नेता आपसमा छलफल गरी यो विषय टुंग्याउनुपर्ने हो । उल्टो उहाँहरूको दाबीलाई समर्थन गरिराख्न अध्यक्षलाई दबाब दिन मिल्दैन । आफ्नो योग्यता सावित गर्न त उहाँहरूले समाधान लिएर अध्यक्षद्वयकहाँ जानुपर्ने हो।’
विकल्प घनश्याम भुसाल? एमालेको नवौँ महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर उपमहासचिव पदमा विजयी घनश्याम भुसाल नेकपाभित्र र बाहिरबाट पत्याइएका नेकपाभित्रका एक मात्र माक्र्सवादी चिन्तक हुन् । भुसालबाहेकको नाम सोधे भने जो कोहीले पनि कांग्रेस नेता प्रदीप गिरीको नाम लिन्छन् । कसैले पनि नाम लिँदैन– नारायणकाजी वा ईश्वर पोखरेलको । सधैँ मार्क्सवाद पढाउने चिन्तक भुसाललाई दिनु उपयुक्त हुने मत जनस्तरमा सबैभन्दा व्यापक देखिन्छ। एमालेको नवौँ महाधिवेशनले पारित गरेको दस्तावेज भुसालले अघि सारेको कार्यनीति थियो । यसअघि कम्युनिष्ट पार्टीले भन्थे, ‘नेपाल अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक मुलुक हो । त्यसविरुद्ध नौलो जनवादी क्रान्ति जरुरी छ।’ भुसालले परम्परागत त्यो व्याख्यालाई फेरे । ‘नेपालमा राजनीतिक क्रान्ति पूरा भएको’ र ‘नेपाल पूँजीवादमा प्रवेश गरेको’ भन्ने स्थापित गराए । भुसालको रुचि नै मार्क्सवाद पढाउनमा छ । उनी अहिले नेकपा स्थायी कमिटी सदस्य छन्।
मार्क्सवादको अध्ययनमा दखल भएका भुसाल त्यससम्बन्धी प्रशिक्षण दिन्छन् । उनले एमालेका धेरै कार्यकर्तालाई मार्क्सवाद पढाएका छन् । नवौं महाधिवेशनमा उपमहासचिव जितेपछि भुसालले पार्टी स्कुल विभाग दाबी गरेका थिए तर अर्को ‘समूह’ बाट चुनाव लडेर जितेको आफ्नै टीमका उपमहासचिव भुसाललाई त्यो दिएनन्, अध्यक्ष ओलीले। पार्टी स्कुल विभाग आफैंसँग राखेका ओलीले उपमहासचिवमा भुसालसँगै हारेका शंकर पोखरेललाई उपप्रमुख बनाएर विभागको कार्यकारी अधिकार दिए। पार्टीको मूल नेतृत्वले लगातार ३२ वर्षसम्म किनारा लगाउँदा पनि महाधिवेशनमा प्रत्यक्ष चुनाव जितेर उपमहासचिव भएका नेता हुन् भुसाल । तर, उनीभन्दा कम भोट ल्याएर दोस्रो मत सहित उपमहासचिव भएका विष्णु पौडेललाई पार्टी एकताका बेला महासचिव बनाए तर मार्क्सवादी चिन्तक भुसाल जिम्मेवारीबिहीन छन् । उनी आफ्नै प्रयासमा मार्क्सवादको अभियान चलाइरहेका छन्।
सचिवालयका दुई सदस्यले स्कुल विभाग दाबी गरेपछि भुसालले पनि मुख खोलेका छन्। मार्क्सवादको नेपाली प्रवक्ता बनेका नेता भुसालले स्कुल विभागको जिम्मा आफूलाई दिन शीर्षनेताहरूसँग माग गरे। ‘यदि पार्टीमा न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मेरो योगदान कोहीभन्दा कम छैन । पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ । त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ।’ समकालीन नेपाली राजनीतिको सबैभन्दा ज्ञाता हुन् भुसाल। उनले मार्क्सवादसम्बन्धी तीनवटा पुस्तक पनि लेखेका छन्।