‘गृहमन्त्रीज्यू, बाढी हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन्छ नभनिदिनु’ – गगन थापा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बाढी र डुबान अन्त्य गर्नका लागि काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपालीको रुने वार्षिक तालिका रहेको व्यंगात्मक प्रस्तुती राख्दै उनले अब परिवर्तन हुनुपर्ने बेला आएको बताए। प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै थापाले बाढी, पहिरो र डुबान अन्त्यका लागि काम गर्ने शैली परिवर्तन गर्नुपर्ने तथा सबै एकजुट हुनुपर्ने धारणा राखे। सभापति देउवाले तराईमधेसका जिल्ला भ्रमणमा सरकार नभेटेको भनेको प्रसंगमा थापाले सरकार देखियोस् भनेर कामना गरेका थिए। उनले भूकम्पका बेला ‘मधेसका नागरिक’ले सहयोग गरेको बताउँदै अहिले काठमाडौंले पनि डुबानमा परेकालाई सहयोग गर्नुपर्ने धारणा राखे।

थापाले नेपालीहरू वर्षको सुरुवातमा यो वर्ष म यो यो काम गर्छु भनेर बाचा गर्ने गरेको तर काम नगर्ने बानी परेको बताए। उनले अगाडि व्यंगात्मक प्रस्तुती यसरी राखे, ‘हाम्रो रुने क्यालेन्डर छ, जेठ-असारमा विकास खर्च भएन भनेर रुन्छौँ, साउनमा हामी सार्वजनिक शिक्षाको बारेमा रुन्छौँ, दशैँमा महंगीको बारेमा रुन्छौँ, प्रत्येक वर्षको साउन र भदौ बाढी-पहिरो पीडितहरूको निम्ति रुनका लागि छुट्ट्याएका छौँ।’ थापाले भने, ‘यो तालिका बदल्ने हो भने हामीले काम गर्ने तरिका नबदली हुँदैन।’ यसका लागि ‘गरिरहेका केही काम छोड्नुपर्ने छ र नगरेका केही काम गर्नुपर्ने छ’ भन्ने उनको सुझाव थियो।

उनले थपे, ‘जलवायु परिवर्तनको ख्याल हामीले गर्नुपर्छ। विकासको ढाँचालाई परिवर्तन गर्नुपर्छ। केही विकासका पूर्वाधार भत्काउनुपर्नेछ र केही पूर्वाधार नयाँ निर्माण गर्नुपर्नेछ।’ वर्षेनी डुबान भइरहेकाले यसका बारेमा लगातार बहस गर्नुपर्ने र काम गर्नुपर्ने थापाले बताए। थापाले गृहमन्त्रीलाई डुबान हिजो पनि थियो र भोलि पनि हुन्छ नभन्न आग्रह गरे। उनको आग्रह थियो, ‘हिजो गृहमन्त्रीले ‘बलात्कार हिजो पनि थियो आज पनि छ र भोलि पनि हुनेछ’ भनिदिनुभयो, बाढीपहिरोको बारेमा यसो नभनिदिनुहोला कि हिजो पनि थियो र आज पनि छ।’ गृहमन्त्रीले छलफलको अन्त्यमा जवाफ दिने कार्यक्रम रहेको छ। उनले हिजो गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको बारेमा जवाफ दिँदा ‘बलात्कार हिजो पनि थियो आज पनि छ र भोलि पनि हुनेछ’ भनेका थिए। जसको आलोचना भइरहेका बेला गगन थापाले पनि यो प्रसंग जोडेका हुन्। – भिडियो थाहाखबर बाट