अमेरिकी राष्ट्रपति ट्रम्पसँग तुलना हुने बेलायतका नयाँ प्रधानमन्त्री बोरिसका चुनौती

९ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
51 Shares


बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले विवादास्पद र अत्यन्त हास्यास्पद छविका बोरिस जोनसनलाई आफ्ना नेता चुनेको छ। योसँगै जोनसनले १० डाउनिङ स्ट्रिटमा उनी नयाँ प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका छन्। बुधबार सपथ ग्रहण गरेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको औपचारिक जिम्मेवारी सम्हालेका उनका सामुन्ने चुनौतिका ठूल्ठूला पहाड छन्।

नयाँ प्रधानमन्त्री गत मे २४ का दिन प्रधानमन्त्री टेरिजा मेले संसद्मा प्रस्तुत गरेको बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारेको प्रस्ताव एकपछि अर्को गरी असफल भएपछि कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। यससँगै बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको पद रिक्त थियो। ७ साता लामो प्रक्रियापछि दुई लाख जति कन्जरभेटिभ पार्टीका सदस्यले दक्षिणपन्थी धारको नेताका रुपमा चिनिने जोनसनलाई सत्तारुढ पार्टीको नेता चुनेका हुन्।

उनलाई कन्जरभेटिभ पार्टीका ९२ हजार १५३ सदस्यले मत दिएका थिए भने उनका प्रतिद्वन्द्वी जेरेमी हण्टले केबल ४६ हजार ६५६ सदस्यको मत पाएका थिए। बेलायती संसदीय प्रणालीअनुसार सत्तारुढ पार्टीको नेताको रुपमा उनी प्रधानमन्त्री बन्न लागेका हुन्। आम निर्वाचनबाट नभई सत्तारुढ पार्टीको नेताको रुपमा प्रधानमन्त्री बनेका जोनसनसँग बेलायती जनताको अभिमत नरहेको भन्दै तत्काल आम निर्वाचनको आह्वान गर्न विपक्षीहरुले चर्को आवाज उठाइरहेका छन्। तैपनि तत्काल आम चुनाव हुने सम्भावना भने देखिन्न। दक्षिणपन्थी धारका नेता, बेलाबेला हास्यास्पद तथा विवादास्पद टिप्पणी गर्ने र व्यक्तिगत प्रचारका लागि लालायित हुने नेताको रुपमा चिनिने उनलाई बेलायतका डोनाल्ड ट्रम्पको संज्ञा समेत दिने गरिएको छ।

ब्रेक्जिटको चुनौत पछिल्लो समय ब्रेक्जिटका विषयमा बेलायतमा तीब्र ध्रुवीकरण भइरहेको छ। ब्रेक्जिटकै सन्दर्भमा बेलायत ईयूबाट बाहिरिने मिति आगामी अक्टोबर ३१ मा सकिँदैछ। उनलाई बेलायत जसरी भएपनि ईयूबाट बाहिरिनुपर्छ भन्ने धारका नेताको रुपमा चिनिन्छ। सन् २०१५ मा ब्रेक्जिटबारे भएको जनमत सङ्ग्रहका क्रममा उनले ईयूले हरेक साता बेलायतबाट ३५ करोड पाउण्ड लैजाने गरेका कारण बेलायत ईयूबाट बाहिरिनुपर्छ भन्ने झूठो प्रचार गरेका कारण कानूनी झण्झटमा फसेका थिए। यस्तो अवस्थामा उनले ईयूबाट बिना सम्झौता नै बेलायत बाहिरिन सक्ने विकल्प पनि खुला रहेको बताउने गरेका छन्। बेलायत ईयूबाट बाहिरिँदा बेलायतको अर्थतन्त्रमा ठूलो धक्का लाग्नसक्ने बताइन्छ।

यद्यपि राष्ट्रवादी धारका नेताहरु भने कुनै पनि सम्झौता बिना नै बेलायत ईयूबाट बाहिरिएमा बेलायतले आफ्नो कानून र बजारमा रहँदै आएको ईयूको नियन्त्रणबाट मुक्त हुने र यसबाट बेलायतको सार्वभौमिकता कायम हुने दाबी गर्दै आएका छन्। अर्कोतर्फ विपक्षी लेबर पार्टीले भने ईयूबाट बेलायती अर्थतन्त्रलाई फाइदा हुनेगरी एक किसिमको सम्झौता गरेर मात्र बाहिरिनुपर्ने धारणा राख्दै आएको छ। प्रधानमन्त्री मेले ईयूसँग गरेको सम्झौता चित्त नबुझेका कारण संसद्ले उनको प्रस्ताव पटक–पटक अस्वीकार गरेको थियो। केही समययता लेबर पार्टी ब्रेक्जिटबारे दोश्रो जनमत सङ्ग्रहका लागि समेत खुला रहेको समाचार पनि सार्वजनिक हुने गरेका छन्। यस्तो अवस्थामा उनले बेलायतलाई ईयूबाट बाहिर ल्याउन समेत ठूलो चुनौति छ।

राजीतिक ध्रुवीकरण सन् २०१५ मा भएको लेबर पार्टीको चुनावमा कट्टर बामपन्थी जेरेमी कोर्बेन निर्वाचित भएपछि लेबर पार्टी परम्परागत रुपमा रहँदै आएको नवउदारवादी धारबाट पुनः बामपन्थी–समाजवादी धारको पार्टीमा रुपान्तरण भएको छ। सन् २०१७ मा भएको आम निर्वाचनमा लेबर पार्टीले प्रभावशाली प्रदर्शन गरेपछि संसद्मा सत्तारुढ कन्जरभेटिभ पार्टीको बहुमत खोसिएको थियो। पछिल्लो समय बामपन्थी धारको लेबर पार्टीको अवस्था निकै मजबुत रहेको र आगामी निर्वाचनमा लेबर पार्टीले प्रभावशाली प्रदर्शन गर्ने सर्वेक्षणहरु सार्वजनिक हुँदै आएका छन्। यद्यपि केही समयअघि भएको युरोपेली संसद्को निर्वाचनमा कट्टर दक्षिणपन्थी तथा राष्ट्रवादी नेता नाइजल फराजको ब्रेक्जिट पार्टीले उत्कृष्ट प्रदर्शन गर्दै अप्रत्याशीत २९ सिट जितेको थियो। यस्तो अवस्थामा बेलायतमा तीब्र राजनीतिक ध्रुविकरण उत्पन्न भएको स्पष्ट छ। हाल कन्जरभेटिभ पार्टी उत्तरी आयरल्याण्डको दक्षिणपन्थी डेमोक्र्याटिक युनियनिष्ट पार्टी डियुपीसँग मिलेर सरकार चलाइरहेको छ। यस्तो अवस्थामा दक्षिणपन्थी धारका नेता बेलायतको प्रधानमन्त्री बनेपछि भने यो ध्रुवीकरण अझ चर्किने सम्भावना रहेको विश्लेषण गरिन्छ। लामो समयदेखि युरोपेली युनियनप्रति नकारात्मक दृष्टिकोण राख्दै आएका बोरिस जोनसनले सन् २०१६ मा बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे भएको जनमत सङ्ग्रहमा बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा विशाल अभियान चलाएका थिए।

पारिवारिक पृष्ठभूमि र अध्ययन जोनसनको पारिवारिक पृष्ठभूमि निकै रहस्यमय छ। उनका जिजुबुवा अली केमाल बे टर्किस मुलका राजनीतिज्ञ तथा पत्रकार थिए। जोनसनका बाबु स्टान्ले जोनसन अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरिरहेका बेला सन् १९६४ मा अमेरिकाको न्यूयोर्क शहरको अपर म्यानहटन क्षेत्रमा जोनसनको जन्म भएको थियो।

सोही अनुसार उनी बेलायती तथा अमेरिकी दुबै नागरिक बन्न पुगेका थिए। पछि सन् २०१६ मा मात्र उनले अमेरिकी नागरिकता त्यागेका थिए। उनका बाबु युरोपेली आयोगमा कार्यरत रहेकाले बोरिसको बाल्यकालको लामो समय बेल्जियमको राजधानी ब्रसेल्समा बितेको थियो।इटोन कलेज र अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी, शास्त्रीय अध्ययन तथा दर्शन अध्ययन गरेका उनी अक्सफोर्ड विश्वविद्यालयको बहस समाज अक्सफोर्ड युनियनको सचिवका रुपमा पनि काम गरेका थिए।

पत्रकारिताको अनुभव आफ्नो विश्वविद्यायल क्षेत्रमा निकै लोकप्रिय उनले १९८७ बाट द टाइम्स अखबारमा पत्रकारको काम शुरु गरेका थिए। तर, पुरातत्वसम्बन्धी एक लेखमा उनले बेलायती राजा एडवर्ड द्वितीयको एउटा गलत भनाइ छापेपछि भने उनलाई त्यहाँबाट बर्खास्त गरिएको थियो। त्यसपछि उनी द डेली टेलिग्राफ अखबारमा लेखकको डेस्कमा काम गर्न थालेका थिए। उनका लेख निकै तीखा र विवादास्पद समेत हुने गर्थे। त्यसपछि सन् १९९४ देखि उनले राजनीतिक लेखकको रुपमा पनि काम गरेका थिए।

राजनीतिक यात्रा सपछि सन् २००१ र २००५ मा भएका आम निर्वाचनमा उनी हेन्लेको निर्वाचन क्षेत्रबाट कन्जरभेटिभ पार्टीको सांसद निर्वाचित भए। सन् २००८ मा भएको लण्डन शहरको मेयरको निर्वाचनमा कन्जरभेटिभ पार्टीले उनलाई उम्मेद्वार उठाएको थियो। सन् २०१२ मा हुन लागेको ओलम्पिकअघि लण्डन शहरको मेयर बन्नु सामान्य चुनौति भने थिएन। सन् २०१२ मा भएको मेयरको चुनावमा उनी पुनः विजयी भएका थिए। उनकै मेयरको कार्यकालमा लण्डन ओलम्पिक सफल भएको थियो। सन् २०१५ मा भएको आम निर्वाचनमा उनी अक्सब्रिज एण्ड साउथ रुइस्लिप निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। लामो समयदेखि युरोपेली युनियनप्रति नकारात्मक दृष्टिकोण राख्दै आएका बोरिस जोनसनले सन् २०१६ मा बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे भएको जनमत सङ्ग्रहमा बेलायत ईयूबाट बाहिरिनुपर्ने पक्षमा विशाल अभियान चलाएका थिए।

तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएपछि आगामी प्रधानमन्त्रीको रुपमा जोनसनलाई हेरिँदै आइएको थियो। तर, उनले त्यसबेला प्रधानमन्त्रीको दौडमा सहभागी हुन अस्वीकार गरेका थिए। डेभिड क्यामरुनपछि प्रधानमन्त्री बनेकी टेरिजा मेले जोनसनलाई विदेशमन्त्रीको रुपमा जिम्मेवारी दिएकी थिइन्। तर, मेको ब्रेक्जिट योजनाबाट असन्तुष्ट जोनसनले सन् २०१८ मा विदेशमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

विवादास्पद, हास्यास्पद र व्यक्तिगत प्रचारका लागि लालायित बेलायतमा उनको छवि निकै विवादास्पद छ। पछिल्लो समय उनी आफ्नी प्रेमिकासँग घरेलु विवादमा तानिएका थिए। झुठो भनाइ छापेका कारण उनलाई द टाइम्स अखबारले बर्खास्त गरेको थियो भने सन् २००४ मा तत्कालिन कन्जरभेटिभ पार्टीको छाया सरकारमा रहेका बेला उनले आफ्नो विवाहबाहिरको सम्बन्धबारे झूठो बोलेका कारण उनलाई कला छाया मन्त्रीको पदबाट बर्खास्त गरिएको थियो। उनका केही भनाइ पनि विवादास्पद हुने गरेका छन्। सन् २००२ मा उनले अफ्रिकामा बेलायती उपनिवेशीकरण सकारात्मक रहेको टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए। त्यस्तै, सन् २००५ मा उनले आगामी निर्वाचनमा कन्जरभेटिभ पार्टीलाई मत दिनेहरुका श्रीमतीको स्तन आफसेआफ ठूलो हुने टिप्पणी गरेका थिए।

सन् २००७ मा टेलिग्राफ अखबारमा लेख लेख्दै उनले अमेरिकी नेतृ हिलारी क्लिन्टन ‘मानसिक अस्पतालमा देखिने निराश नर्स’ जस्तै भएको टिप्पणी गरेका थिए। लण्डन शहरको मेयर रहेका बेला ओलम्पिकको तयारीका क्रममा उनी लण्डनको जिपलाइनमा अड्केपछि उनी विश्वभर हासोको पात्र बन्न पुगेका थिए। दक्षिणपन्थी धारका नेता, बेलाबेला हास्यास्पद तथा विवादास्पद टिप्पणी गर्ने र व्यक्तिगत प्रचारका लागि लालायित हुने नेताको रुपमा चिनिने उनलाई बेलायतका डोनाल्ड ट्रम्पको संज्ञा समेत दिने गरिएको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनलाई ‘बेलायतको डोनाल्ड ट्रम्प’ को संज्ञा दिने गरेको भन्दै बधाई र शुभकामना समेत दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया