अनुसन्धान भन्छ – एकान्त रुचाउने व्यक्ति बढी प्रतिभावान

प्रकाशित मिति:

एजेन्सी– एकान्तमा धेरै समय बस्न रुचाउने मानिसहरु बढी चिन्तन गर्छन् भनिन्छ । यसले मानिसको मानसिक अवस्थालाई असर गर्ने भन्दै मनोवैज्ञानिकहरुले एक्लै धेरै समय नबस्न र साथीभाई तथा परिवारसँग बढी समय घुलमिल गर्न सुझाव दिने गर्छन् । तर एक अनुसन्धानले भने फरक नतिजा देखाएको छ । अनुसन्धानअनुसार एकान्तप्रेमी व्यक्ति बढी प्रतिभावान हुन्छन् । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्सको अनुसन्धानले उक्त नतिजा देखाएको हो ।

मनोवैज्ञानिकहरु समेत रहेको अनुसन्धान टोलीले १५ हजार जनामाथि उक्त अनुसन्धान गरेको थियो । जसमा आइक्यु बढी भएका व्यक्तिहरु बढी हल्ला हुने ठाउँमा बसेपनि उनीहरु त्यो बसाईदेखि सन्तुष्ट देखिएनन् । त्यस्तै अनुसन्धानमा संलग्नमध्ये धेरैजसो व्यक्तिहरु सम्बन्ध बनाउन, समाजमा घुलमिल हुन मन पराउँछन् । तर आइक्यु धेरै भएका, सिर्जनात्मक सोंच राख्ने व्यक्तिहरु केही समयमात्र अरुसँग या हल्लामा रहने र धेरैजसो समय एकान्तमा बस्न मन पराउँछन् । उनीहरुका अनुसार, एकान्तमा रहँदा तनाव कम हुन्छ, दिमाग ताजा र एकाग्र रहन्छ ।