श्रृङ्खलाबद्ध बम आक्रमणमा १५ जनाको मृत्‍यु

प्रकाशित मिति:

काबुल– अफगानिस्तानको राजधानी काबुलमा गराइएका श्रृङ्खलाबद्ध तीन बम विष्फोटमा कम्तीमा १५ जना मारिएका छन् ।
अफगानिस्तानका लागि अमेरिकी सेनाध्यक्षले भ्रमणमा रहेका बेला काबुलमा विभिन्न तीन विष्फोट भएका हुन् । आक्रमणकारीले त्यहाँको खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारी चढेको बसलाई लक्षित गरी बम विष्फोट गराएको र उक्त आक्रमणमा ८ जनाको ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा अरु २७ जना घाइते भएका छन् । आक्रमणमा मारिने तथा घाइते हुने अधिकांश सरकारी कर्मचारी छन् ।

उक्त विष्फोटलगत्तै नजिकै अर्का आत्मघातीले कम विष्फोट गराएका थिए । उक्त आक्रमणमा अरु ७ जना मारिएका छन् भने अरु २९ जनाभन्दा धेरै घाइते भएका छन् । उक्त आक्रमणलगत्तै नजिकै अर्को कार बम विष्फोट भएको बताइएको छ । अफगानिस्तानका लागि अमेरिकी सेनाका कमाण्डर मरिन जनरल जोसेफ डनफर्ड काबुल पुगी अमेरिकी तथा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका अधिकारीसँग भेटवार्ताका क्रममा रहेका बेला बम आक्रमण भएको हो । अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले कार बम आक्रमणको जिम्मा लिएपनि अन्य दुई आक्रमणमा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ ।