दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल

प्रकाशित मिति:

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त भएका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकले खनाललाई अध्यक्षमा नियुक्त गरेको हो । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन्। प्राधिकरणको अध्यक्षका लागि एक दर्जन प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष छान्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वका समिति गठन गरेको थियो ।

समितिसमक्ष १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका थिए । उनीहरुको लिखित र मौखिक परीक्षा र कार्ययोजना सहितको प्रस्तुतिका आधारमा अन्तिम तीनजना अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशीको नाम अध्यक्षका लागि सिफारिस गरिएको थियो । सोहि तीन जनाबाट प्राधिकरणका पुराना तथा अनुभवी कर्मचारी पुरुषोत्तम खनालको नाम सिफारीस भएको हो । खनाललाई पाँच बर्षको लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन् ।

यसअघि प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी खनाललाई दिइएको थियो । प्राधिकरणको स्थापना कालदेखिका कर्मचारी खनाल २१ वर्षदेखि कार्यरत छन् । त्यसअघि गोरखापत्र संस्थानमा थिए । संस्था सरुवा गरेर उनी प्राधिकरण पुगेका हुन् । गोरखापत्र र प्राधिकरणबीच सहमति भएपछि संचार मन्त्रालयको मध्यस्थतामा खनाल प्राधिकरणमा गए । उनी प्राधिकरणमा जाँदा पाँच जना बोर्ड सदस्यमात्र थिए । उनी उपनिर्देशक, निर्देशक हुँदै आनन्दराज खनालसंगै एकैपटक वरिष्ठ निर्देशक भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा ४३ सदस्यले प्राधिकरण अध्यक्ष दिगम्बर झालाई हटाउन दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झाले पुस ११ गते राजीनामा दिएका थिए । दुई वरिष्ठ निर्देशकमध्ये आनन्दराज खनाल सञ्चार विज्ञका रूपमा मन्त्रालय तानिएपछि अर्का वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिइएको थियो ।