घनश्याम भुसाल भन्छन – स्कूल विभागमा म योग्य छु

प्रकाशित मिति:

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको नवौं महाधिवेशनदेखि नै स्कूल विभाग आफुले पाउनुपर्ने दाबि गर्दै आएको बताएका छन् । महाधिवेशनपछि आफु यसको प्रष्ट दावेदार भए पनि त्यत्तिखेर गुटवन्दीका कारण जिम्मेवारी नदिइएको प्रष्ट पारे । पार्टीको सिद्धान्त र विचार बनाउन आफुले बढी मेहनत गरेको कारण स्वभाविक रुपमा स्कूल विभागको जिम्मेवारी आफुले पाउनुपर्ने उनको दाबि छ ।“विभागले माक्र्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्छ, जुन मैलै गरेका कामहरुमध्ये धेरै लगाव त्यसैमा छ, उनले भने ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले भने,—ढिलो भए पनि पद्धति स्थापित भएको छ, बहस र छलफल भएको छ, राम्रो निर्णयमा पुग्छ, पुग्दैन, त्यो विषय भन्दा पनि प्रक्रियागत हिसाबले कमसेकम छलफल हुने कुरा नै सकारात्मक हो ।’ मलाई स्कूल विभागको जिम्मेवारी दिनुपर्छ भनेर विगतमा अध्यक्षले नै भनेको भन्दै उनले तर बिभाग स्वंय उहाले नै राख्नुभयो,त्यो पटक्कै राम्रो होइन ।आफुले जिम्मेवारी नपाउँदा स्कूल विभाग नै विग्रन्छ भन्ने मान्यता नरहे पनि यसका बारेमा छलफल भए राम्रो हुने कुरामा विश्वस्त रहेको उनको भनाइ छ ।

दुई जनाको मात्रै निर्णयले पार्टी चलाउनु प्रक्रियागत शैली होइन : – दुई जनाले छलफल गरेर विभाग बनाउने, जिल्ला कमिटी इञ्जार्ज तोक्ने काम भएको छ यसलाइ पार्टी प्रक्रियागत ढंगले अगाडी बढेको छ भन्न नसकिने उनले बताए । सुरुवाती चरणमा नेकपा नेतृत्वको सरकारले जुन गति लिनुपर्ने त्यो लिन नसके पनि विस्तार यसले गति लिदैं गएको उनले बताए । सरकारले पार्टी चलाउने होइन,पार्टीले सरकार चलाउने हो,व्यक्तिले समुह चलाउने होइन, उनले भने । प्रधानमन्त्रीको चासो हेर्दा पार्टी र सरकार एक्लै चल्ने नसक्ने भन्ने कुरा बुझिएको उनले बताए ।सरकार अनुकल पार्टी चल्नुपर्छ भन्ने सोचमा परिवर्तन आउनु सन्तोषको कुरा भएको उनले बताए । पार्टीमा सिद्धान्त र विचार कमजोर भए व्यक्तिका स्वार्थ हावी हुँदै जाने उनले बताए । अहिले पनि गुटबन्दीका हिसाबले निर्णय भए र लोकतान्त्रिक हिसाबले विधिलाई स्थापित गर्न नसकिए आफुले अन्तिम सम्म त्यसको विरोध गर्दै जाने भुसालको भनाइ थियो ।

“पार्टीलाई व्यक्तिका प्रभावबाट मुक्ति गर्नुपर्छ,विधि स्थापित हुनुपर्छ, भुसालले भने । सरकारले धेरै महत्वपूर्ण र प्रभावकारी काम गर्नुपर्छ भन्ने नागरिकको अपेक्षा छ, उनले भने । सरकारले गरेका राम्रा कामहरु जनता सम्म पुग्न नसकेको र पार्टी पनि त्यही अनुरुप परिचालित हुन नसकेकोले कतिपय विधेयकहरु फिर्ता भएको उनले बताए । विधेयकको बारेमा पार्टीमा छलफल नहुदा र आन्तरिक व्यवस्थापन राम्रो हुन नसक्दा यस्तो अवस्थाको सिर्जना भएको उनले बताए ।