बेपत्ता बालिकाको शव, गाडेको अवस्थामा भेटियो !

प्रकाशित मिति:

विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी ८ वर्षीया बालिका कलावति सार्की ( भुल) को शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा स्थित ईश्वर आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत कलावतिको शव बुधबार बिद्यालय नजिकैको जंगलमा गाडिएको अवस्थामा शब फेला परेको परेका प्रहरीले बताएको छ ।

गत महिना असार १७ गते बिहान विद्यालय जाँदै गरेकी बालिका कलावति बेपत्ता भएपछि मृतकका बुवाले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरीले व्यापक खोजी गरे पनि बालिका भेट्टाउन सकेको थिएन । बुधबार स्थानीय महिलाले बाख्रा चराउने क्रममा खाल्डो नजिकै चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कलावती अध्ययनरत ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दिपक पातलीले जानकारी दिनुभयो । कलावतिको शवसंगै कापी किताब समेत खाल्डोमा गाडिएको अवस्थामा फेला परेका छन् ।

मृतक बालिका दोगडाकेदार गाउँपालिका २ स्थायी घर भई हाल दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा गाउँमा मजदुरी गर्दै आएका बुवा खडक सार्कीसंगबस्दै आईरहेको प्रहरीले जानकरी दिएको छ । प्रहरीका अनुसार बालिकाको ‘हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने केही खुलेको छैन । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा समस्या भएको प्रहरीको भनाई छ । मृतक बालिकाका बुवा खडकका अनुसार बालिकालाई असार १७ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले खोजतलास तीव्र बनाए पनि फेला पार्न सकेको थिएन् । – गोरखापत्र