उद्योग स्थापनामा नयाँ आयाम

प्रकाशित मिति:

नारायण वली -बुटवल/ गत वर्षको तथ्याङ्क अनुसार पछिल्लो समय रुपन्देही जिल्लामा घरेलु तथा साना उद्योग खुल्ने सवालमा नयाँ आयाम थपिएको पाईएको छ । आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ४ सय ६४ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा १ हजार ४ सय ६४ वटा उद्योग दर्ता भएका छन् । उक्त संख्या अघिल्लो आर्थिक वर्षको भन्दा वढी रहेको छ ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद आचार्यका अनुसार जिल्लामा गत आर्थिक वर्षमा ११ हजार ७ सय ५६ वटा उद्योग दर्ता भएका थिए ।

एक वर्षको अवधिमा १ हजार ५ सय ६२ वटा उद्योगको नविकरण भएको छ । १ सय २२ वटाको नामसारी गरिएको छ भने ५२ वटाको ठाउँसारी गरिएको छ ।यस्तै उद्देश्य अन्र्तगत २५ वटा, लगत कट्टा १ सय ८०, प्रतिलिपी २ र पुँजीवृद्धि तर्फ १ सय ३४ वटाको वृद्धि गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आचार्यको भनाई रहेको छ । पछिल्लो समय जिल्लामा उद्योगको संख्या वृद्धि हुँदै गएको उहाँको भनाई छ । नयाँ थपिएका संख्या संगै जिल्लामा हाल सम्म १३ हजार २ सय २० वटा उद्योग स्थापना भएका छन् ।गत आर्थिक वर्ष ०७५÷०७६ मा कार्यालयले राजस्व आम्दानीमा २ करोड १ लाख ७२ हजार ८ सय ५९ रुपैयाँ संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ३ सय २१ जनालाई कम्प्युटर, सिलाई कटाई, वेतवाँस जन्य सामाग्री उत्पादन र वेकरी जन्य सामाग्री वनाउने जस्ता अन्य विभिन्न तालिम सञ्चालन गरेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका लघु उद्यम सहजकर्ता अनन्त पन्थीले जानकारी दिनुभएको छ ।गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत ३ सय ४१ नयाँ उद्यमी सिर्र्जना तथा पुराना १ सय ६० जना उद्यमीहरुको स्तरोन्नती कार्य सम्पन्न गरेको कार्यालयले वताएको छ । गत वर्षमा कार्यालयले जिल्लाको सैनामैना नगरपालिका र मर्चवारी गाउँपालिकामा लघु उद्यम विकास सम्वन्धि ५ वर्षे रणनितिक योजना निर्माण र १६ वटा स्थानिय तहमा १ स्थानिय तह, १ औद्योगिक ग्राम सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले जनाएको छ ।