नवलपरासीको कावासोतीमा सरकारी गाडीमा आगजनी

प्रकाशित मिति:

नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिए ।

रानाभाटका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो ।राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए ।विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर, खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।