कालोपत्रे उक्किएपछी दुर्घटनाको जोखिम बढ्दै

प्रकाशित मिति:

निशा भण्डारी/कावासोती – नवलपुर कावासोतीको मुख्य बजार क्षेत्रमा सडककाे कालोपत्रे भत्कीएपछि सवारी साधन आवत-जावतमा कठिनाई आएकाे छ । अविरल वर्षाका कारण मुख्य सडक जिर्ण बन्दै गएपछि सवारी साधन आवत-जावतमा कठिनाइ आएकाे हाे ।
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डमा समेत दुर्घटनाको जोखिम बढेको छ । राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेको २ महिना बितिसक्दा पनि मर्मत नभएपछि दुर्घटनाको जोखिम बढेको हो । उक्त सडक पूर्ण रुपमा मर्मत गरिदिन सराेकारवाला निकाय समक्ष आग्रह गरेपनि सुनुवाई हुन नसकेकाे स्थानीय सुदीप चापागाइँ बताउँछन् । उनका अनुसार सडकमा ठूल्ठूला खाल्डाखुल्डी बनेका कारण सावारी साधन आवत-जावतमा समस्या भएको छ । जसले गर्दा दुर्घटनाको जोखिम ह्वात्तै बढेकाे हाे ।

त्यस्ता खाल्डा कावासोती, दुम्किबास, अरुणखोला, दाउन्ने, बर्दघाट, कीतिपुर बजारमा बनेका छन् । कावासोतीको सभापति चोक आसपास राजमार्गमा ठूला खाल्डामा टायर राखिएको छ । टायर देखेर चालकले सावधानी अपनाओस् र दुर्घटना नहोस् भनेर त्यसो गरिएको स्थानीय बताउँछन् । राजमार्गमा खाल्डाले गाडी गुडाउनै नमिल्ने अवस्था छ । मुख्य राजमार्गमा बाटो काट्नसमेत पैदलयात्रुलाई समस्या छ ।



पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले डिभिजन सडक कार्यालय बर्दघाटलाई पटक पटक टेलिफोन गरी बोलाउँदा पनि अटेर गर्दै आएको दुखेसो पोखे । उनका अनुसार महेन्द्र राजमार्गमा खाल्डा बनेको २४ घण्टाभित्रै पुरिसक्न पर्ने नियम रहे पनि लागू भएको छैन । दाउन्ने गैंडाकोट सडक खण्ड हेर्न बर्दघाट सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सुजन अधिकारीले अब बन्ने ४ लेन सडकका कन्ट्रयाक्टरलाई सोझै निर्देशन दिन नमिल्ले र कन्सल्टयान्टलाई यसबारेमा जानकारी दिने बताए । बुटवल–नारायणगढ खण्डको अब बन्ने ४ लेन सडकको ठेक्का चिनियाँ ठेकेदारलाई परेकाले काम ढिलाई भएको उनको दाबी छ ।