निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीविरुद्ध नेवि संघको नाराबाजी

प्रकाशित मिति:

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्षसम्म पनि हत्याराहरु पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको सन्दर्भमा नेवि संघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष (१० साउन २०७५) मा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलमा प्रर्दशन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी समेत गरेका थिए । निर्मला हत्याको १ बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।