मानविकी पढेर चिकित्साको ‘अफर लेटर’

प्रकाशित मिति:

काठमाडौं – मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि पनि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ । एउटा विषय लिएर विद्यालय तह पूरा गरेकाहरू उच्च शिक्षा अर्काे विषय अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन जाने प्रशस्तै भेटिन्छन् । यस्तो कार्यमा विद्यार्थीलाई उक्साउने काम यहाँका शैक्षिक परामर्शदाताहरूले गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले विद्यार्थीले कुन विषय अध्ययन गर्न सक्छन्, कुन गर्न सक्दैनन् भन्ने विदेशी विश्वविद्यालयले हेक्का राख्दैनन् भन्नुभयो । उहाँका अनुसार विदेशी विश्वविद्यालयलाई विद्यार्थी चाहिएको हुन्छ, त्यसैले जसलाई पनि जुनसुकै विषय अध्ययन गर्न पाउने गरी ‘अफर लेटर’ पठाइदिने गर्छन् । ‘नो अब्जेक्सन लेटर’ लिन पुगेका त्यस्ता विद्यार्थीलाई शाखाका कर्मचारीहरूले ‘नो’ भनेर फर्काइदिने गरेका छन् । विद्यार्थीलाई जसरी भए पनि विदेश जानु छ र उता गइसकेपछि अध्ययनभन्दा पनि रोजगारी उनीहरूका लागि मुख्य ध्यान हुने हुँदा ‘नो अब्जेक्सन लेटर’ लिनु परेको हो ।

कतिपय अध्ययन पूरा गरेपछि स्वदेश फर्किन चाहना राख्नेहरू पनि हुन्छन् । तर त्यस्तो शैक्षिक प्रमाणपत्रलाई नेपाल सरकारले समकक्षता प्रदान गर्दैन भन्ने हेक्का राख्दैनन् । यसले गर्दा उनीहरूले मेहनत गरेर आर्जन गरेको प्रमाणपत्रले मान्यता प्राप्त गर्न नसकी खालि खोस्टोका रूपमा मात्र रहन्छ । नेपाल सरकारले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्न विद्यालय तहमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनुपर्ने नियम बनाए पनि विदेशी विश्वविद्यालयले ‘डी’ वा ‘ई’ ग्रेड ल्याएकालाई समेत आफूकहाँ अध्ययन खुला गर्न ‘अफर लेटर’ पठाइदिने गरेका छन् । “यस्ता विद्यार्थी अध्ययनपछि नेपालमा आएमा उनीहरूको प्रमाणपत्रले समकक्षता प्राप्त गर्न सक्दैन ।

यसले गर्दा समस्या हुने देखिन्छ”, शाखाका उपसचिव शर्माले भन्नुभयो । सो शाखाबाट गत आर्थिक वर्ष २०७५÷७६ मा ६३ हजार २५९ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । तीमध्ये सबैभन्दा बढी ३६ हजार ३२४ जनाले अस्ट्रेलिया अध्ययनका लागि त्यस्तो पत्र लिएका थिए । शाखाका अनुसार दैनिक सरदर २५० जनाले ‘नो अब्जेक्सन लेटर’ लिने गरेका छन् ।

विदेश अध्ययनमा जाँदा प्रतिविद्यार्थी सरदर ३० लाख रुपियाँ लिएर जाने गरेको अनुमान गरिँदै आएको छ । एकपटक जारी गरिसकेपछि पुनः ‘नो अब्जेक्सन लेटर’ दिन नमिल्ने व्यवस्था भए पनि कतिपय हरायो भन्दै प्रतिलिपि लिन शाखामा जाने गरेका छन् । तर उनीहरूलाई नेपाल राष्ट्र बैङ्कबाट पत्र ल्याउनू भनेर फिर्ता पठाउने गरिएको छ । बैङ्कले त्यस्तो पत्र हालसम्म कसैलाई पनि उपलब्ध गराएको छैन । जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययनका लागि विदेश जान चाहना राखेका एक जना पशु चिकित्सकलाई वैदेशिक अध्ययन अनुमति शाखाका पदाधिकारीले कान समाएर उठबस गराएर पठाइदिएका छन् । शाखाका उपसचिव महेश्वर शर्माले जनस्वास्थ्य अध्ययन गर्न एक जना पशु चिकित्सकले विदेशी विश्वविद्यालयबाट ‘अफर लेटर’ ल्याएको बताउँदै भन्नुभयो, “एमपीएच अध्ययनका लागि विदेश जान नो अब्जेक्सन लेटर चाहियो भन्दै आएका थिए । उनलाई नेपाल जनस्वास्थ्य परिषद्बाट पत्र ल्याउन भन्यौँ । उनले ल्याए । त्यो नक्कली हो भन्ने पत्ता लगायौँ । त्यो नक्कली भएको भन्दा उनले आफूले पैसा तिरेर पुतलीसडकबाट बनाएर ल्याएको स्वीकारे ।

हामीले कान समाएर आइन्दा यस्तो गर्नेछैन भनेर उठबस गर्न लगायौँ । ” उहाँले ‘नो अब्जेक्सन लेटर’ लिन आउनेहरू कतिपयको नक्कली प्रमाणपत्र हुनसक्ने बताउँदै आफूहरूले थाहा नपाईकनै कतै नक्कली प्रमाणपत्रका आधारमा ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराएका त छैनौँ भन्ने डरले निकै चिन्तित बनाइरहने बताउनुभयो । नक्कली शैक्षिक प्रमाणपत्रको समस्या देशभरि झाँगिँदै गएको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले आफूले चार वर्षमा एमबीबीएस उत्तीर्ण भएका पाँचवटा जति नक्कली प्रमाणपत्र पत्ता लगाएको बताउँदै भन्नुभयो, “मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएकाहरूले पनि नक्कली प्रमाणपत्र बुझाएको फेला पारेका छौँ । यो निकै ठूलो समस्या बनेको छ । ” – गोरखापत्र