पूर्वमन्त्री सिंहको निधन

प्रकाशित मिति:

राजविराज– पञ्चायतकालमा मन्त्री बनेका सप्तरीको राजविराज-७ निवासी चतुर्भुजप्रसाद सिंहको निधन भएको छ। ८७ वर्षको उमेरमा शुक्रबार बिहान साढे ६ बजे निवासमै उनको निधन भएको हो। उनी विसं १९८९ असोज १ गते रुपनी गाउँपालिका–५ (तत्कालीन बसबिट्टी गाउँ पञ्चायत वडा-१) मा जन्मिएका थिए। दर्पनारायण सिंह र आमा कौशल्यादेवीको कोखबाट जन्मिएका सिंहले राजविराजस्थित पब्लिक विन्देश्वरी माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेका थिए। उनकी पत्नी, २ छोरा र १ छोरी छन्। सिंहको शुक्रबारै सप्तकोशी ब्यारेजमा दाहसंस्कार गरिने छोरा सुमन सिंहले बताए।

२०१५ सालदेखि राजनिति सानै उमेरदेखि राजनितिमा चासो राख्ने सिंह २०१५ सालमा नेपाली कांग्रेसमा आवद्ध भएका थिए। उनी केही समय नेपाली कांग्रेसको ३६ नम्बर क्षेत्रको कमिटीका सचिवसमेत थिए। सो कमिटीको अध्यक्षमा स्व गजेन्द्रनारायण सिंह थिए।

महेन्द्रको ‘कु’पछि सत्ताको वरिपरि २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि सिंह कांग्रेस परित्याग गरी पञ्चायतमा छिरेका थिए। पञ्चायतमा छिरेपछि उनी प्राय सत्ता र शक्तिको वरिपरि नै रहे। २०२५ सालदेखि २०३२ सालसम्म पटक–पटक गरी उनी निर्माण तथा यातायात, उद्योग तथा वाणिज्य, जलविद्युत र सञ्चारमन्त्री भएका थिए। २०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्यको रुपमा समेत सिंहले काम गरेका उनका कान्छा छोरा सुमनले जानकारी दिए। सिंहले आफू मन्त्री रहँदा सप्तरीको बसबिट्टीमा जनता मावि र सिरहाको भगवानपुर गाउँपालिका-२, नहरा रिगोलमा लक्ष्मीनारायण कौशल्या जनता माविको स्थापना गराएका थिए।