अमेरिकाको गोप्य तथा प्रतिबन्धित क्षेत्र

प्रकाशित मिति:

हाल अमेरिकाको प्रतिबन्धित क्षेत्र एरिया–५१ निकै चर्चाको विषय बनेको छ । यससँग सम्बन्धित विभिन्न मिम भाइरल भएसँगै यसको चर्चा अझै चुलिएको छ । मुख्यतया, अमेरिकी सरकारले यस क्षेत्रमा विभिन्न रहस्य लुकाएर राखेको भन्ने हल्लाले एरिया–५१ बारे मानिसहरुको जिज्ञासा बढ्दो छ । जो यस क्षेत्रसम्बन्धी थोरै मात्र पनि जानकारी राख्दछन्, तिनीहरु यससँग सम्बन्धित रहस्यलाई पूर्णतया जान्न निकै लालायित छन् । तर, अहिलेसम्म एरिया–५१ बारे विभिन्न अड्कलबाजी लगाए पनि यो क्षेत्र यस्तै छ र यहाँ यही कार्य हुन्छ भनेर कसैले पनि सप्रमाण बताउन भने सकेको छैन । अमेरिकाको गोप्य तथा प्रतिबन्धित क्षेत्र  एरिया ५१ अमेरिकाको नेभाडा राज्यको एक ठूलो मरुभूमिमा रहेको प्रतिबन्धित क्षेत्र हो । यहाँ एक सैन्य बेसक्याम्प पनि छ । यो करीब ८५ हजार एकडमा फैलिएको छ । यहाँ विशेषतः सैन्य विमान तथा आणविक हतियारको परीक्षण गरिन्छ । त्यस्तै, यहाँ अमेरिकी सेनालाई तालीम पनि दिइन्छ ।

एलियनबारे अनुसन्धान  विश्वका सबै देशले यो गोप्य क्षेत्रको बारेमा जान्न चाहन्छन् । मानिसहरु यस क्षेत्रको बारेमा विभिन्न धारणा प्रस्तुत गर्छन् । यहाँ सैन्य परीक्षणका साथै गोप्यरूपमा एलियनको बारेमा पनि शोध गरिने केहीको भनाइ छ ।  एलियनमा विश्वास गर्नेहरु यो क्षेत्रमा सन् १९४७ मा एलियनको एक यान क्र्यास भएको बताउँछन् । यस क्षेत्रमा अझै यानसँगै आएको एलियनबारे अनुसन्धान भइरहेको उनीहरुको भनाइ छ । यद्यपि, सरकारी अधिकारीहरु भने यस भनाइको खण्डन गर्छन् । उनीहरु यो क्षेत्र केवल सैन्य परीक्षण र प्रशिक्षणका लागि सुरक्षित राखिएको बताउँछन् ।  के साँच्चै देखिन्छ त एलियन  केही व्यक्तिले प्रतिबन्धित क्षेत्र हुँदाहुँदै पनि उक्त क्षेत्रमा गएर एलियनबारे सत्य जान्ने प्रयास गरेका पनि थिए । केहीले उक्त क्षेत्रमा आफूले एलियन देखेको दाबी गरे पनि प्रमाण नभएकाले कोही पनि उनीहरुको कुरा मान्न तयार भने छैनन् ।

सामाजिक सञ्जालमा भाइरस इभेन्ट र मिम हाल फेसबुकमा सन् २०१९ सेप्टेम्बर २० का लागि दे कान्ट स्टप अल अफ अस, स्टोर्म एरिया ५१ लगायत इभेन्ट भाइरल भएको छ । लाखौं मानिसले उक्त क्षेत्रमा जान साइनअप पनि गरेका छन् । ‘यदि हामी सबै जाने हो भने हामीलाई कसैले रोक्न सक्दैन । हामी नारुतो रन गरेर कुदौं र एलियन हेरौं,’ इभेन्टका निर्माताको भनाइ छ । यो एक फेक इभेन्ट हो । हाल एरिया–५१ र इभेन्टसम्बन्धी धेरै मिमहरु बनेका छन् । तथापि, यस इभेन्टलाई लिएर अमेरिकी सरकार सतर्क छ । उसले यो क्षेत्रमा सैन्य अभ्यास गराइनुका साथै विभिन्न परीक्षण गर्ने गरिएकाले गोप्यता तथा नागरिकको सुरक्षालाई ध्यानमा राखी यस क्षेत्रमा प्रतिबन्ध लगाइएको बताएको छ । त्यस्तै, हल्लाको पछि लगेर यस क्षेत्रमा नआउन समेत अमेरिकी सरकारले आग्रह गरेको छ । बिन लादेनको हत्यामा प्रयुक्त हेलिकोप्टरको परीक्षण त्यस्तै, ओसामा बिन लादेनलाई मार्न ब्ल्याकहक हेलिकोप्टरको प्रयोग गरिएको थियो । बिन लादेनलाई मार्नुअघि उक्त हेलिकोप्टरको परीक्षण पनि यही क्षेत्रमा गरिएको बताइन्छ । यद्यपि, विभिन्न अध्ययन प्रतिवेदनले त्यहाँ गोप्य अनुसन्धान गरिने कुरा भने प्रमाणित गरेको छ । यूएस आर्मीले यहाँ डी(२१ नामक आफ्नो पहिलो ड्रोनको परीक्षण गरेको थियो ।

तीव्र गतिको विमान लुकाइएको  हाल करीब ५० वर्षपछि यहाँको एक रहस्य भने उद्घाटन भएको छ । गत वर्ष यो रहस्यमय क्षेत्र एरिया–५१ का केही तस्वीर सार्वजनिक भएका थिए । अमेरिकाको नेभादा मरुभूमिमा स्थित यो क्षेत्रका केही तस्वीर पहिलोपटक एक साइन्स च्यानलमा प्रकाशित गरिएको थियो । यी तस्वीरमा सन् १९६३ जनवरीमा जासूसी विमान ए–१२ को दुर्घटना भएको देख्न सकिन्छ ।  शीतयुद्धको समयमा अमेरिकाले आफ्नो एयरफोर्स, सीआईए र नासा सुपरसोनिक एवं प्रविधिमा आफुले गरेको विकास विश्वबाट लुकाउन चाहन्थ्यो । त्यसबेला ए–१२ विमान २२०० माइल प्रतिघण्टाको गतिमा उड्न सक्थ्यो । यो गतिलाई राडारले मापन गर्न र नियन्त्रण गर्न सक्दैनथ्यो । यस विमानले ७० मिनेटमा अमेरिकी उपमहाद्वीप पार गर्न सक्थ्यो । विमानको अल्ट्रा सेन्सेटिभ क्यामराले ९० हजार फिटको उचाइबाट एक फिटको वस्तुको पनि सफा तस्वीर खिच्न सक्थ्यो ।  उक्त विमान करीब २५ हजार फिट उचाइमा नियन्त्रणभन्दा बाहिर गयो र विमान चालक प्यारासुटको सहायताले विमानबाट झर्नुपर्यो । यो दुर्घटनापछि उक्त विमानको बारेमा जानकारीहरु लिक भयो । रुसी भूउपग्रहले उक्त विमान र विमानमा जडित प्रविधिबारे केही पनि थाहा नपाओस् भन्ने अमेरिकाको अपेक्षा थियो ।  यस घटनाले अमेरिकाले आफ्ना नवीनतम आविष्कार, प्रविधि, सैन्य योजना आदि यो क्षेत्रमा लुकाएर राखेकाले यस क्षेत्रमा प्रतिबन्ध लगाएको हुन सक्ने संकेत गर्दछ ।  विभिन्न साइन्स फिक्सन चलचित्रमा यस क्षेत्रबारे चर्चा पाइन्छ । ती चलचित्रमा अमेरिकी सरकारले एलियनको अस्तित्वबारे सर्वसाधारणलाई सत्यतथ्य लुकाइरहेको देखाइएको छ । यसले पनि यस क्षेत्रबारे जानकारी राख्ने मानिसहरु त्यहाँ केही रहस्य लुकेको भन्ने कुरामा दृढ बनेका हुन् ।यद्यपि, यस क्षेत्रलाई पूर्ण प्रतिबन्ध लगाउनुको स्पष्ट उद्देश्य भने अहिलेसम्म थाहा दिइएको छैन । भविष्यमा कुनै पनि सर्वसाधारणले यसको रहस्य जान्न पाउला कि नपाउला, यो अझै अनुत्तरित प्रश्न हो । एजेन्सीको सहयोगमा