सरकारले रचनात्मक काम गरे सहयोग गछौ : प्रकाशमान सिंह

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे ।  शनिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् । सरकारले राम्रो काम गरोस्, देशमा विकास गरोस् भनेर सहयोग गर्न चाहँदा पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साटो प्रधानमन्त्रीले भाषणबाजी मात्र गर्ने र आफूभन्दा फरक विचार राख्नेहरुको मानमर्दन गर्ने गरेको गुनासो उनले गरे ।

वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाइसकेको टिप्पणीसमेत उनले गरे । यो सरकार राम्रो काम गर्न त के, अरुले गरेको कामको जस लिनसमेत अयोग्य रहेको उनले बताए । वर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्रसमेत विश्वस्त हुन नसकेको उनले टिप्पणी गरे । अन्तर्राष्टिय जगतलाई विश्वासमा लिएर काम गर्न नसक्दा मुलुक असफल राष्ट्र बन्ने दिशातर्फ गएको उनले आरोप लगाए । कार्यक्रममा नेता सिंहले गुहेश्वरी बाल शिक्षा माद्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण तथा एसईई परीक्षामा उत्तीर्ण भएकाहरुलाई सम्मान गरेका थिए । विद्यालय पोशाक पूर्व गभर्नर हिमालय शमशेर जबराको सहयोगमा प्राप्त भएको थियो ।