ग्रहण

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

एउटा सुन्दर सपनाको त्यान्द्रोमा
एउटा योजना बुन्दै थिए
धपक्क अँध्यारोले
दुनियाँ ढाकेको छ
सायद
यतिबेला ग्रहण लागेको छ

एउटा मिठो फल फलाउन
एउटा रसिलो रुख रोप्ने
शुभ पल खोज्दै थिए
धपक्क अध्यारोले
दुनियाँ ढाकेको छ
सायद
यतिबेला ग्रहण लागेको छ

सन्सारको अग्लो सगरमाथा चुम्ने
संकल्पका साथ
मेरा पाइला अगाडि बढाउदै थिए
धपक्क अध्यारोले
दुनियाँ ढाकेको छ
सायद
यतिबेला ग्रहण लागेको छ

जिजिविषाको जुवाड गर्न
पौरखी यो जिन्दगी बोकेर
भर्खर
बाहिर निस्कदै थिए
धपक्क अध्यारोले
दुनियाँ ढाकेको छ
सायद
यतिबेला ग्रहण लागेको छ

सन्सार जित्ने
उत्कट चाहनाका साथ
भीषण तयारी गर्दै थिए
धपक्क अध्यारोले
दुनियाँ ढाकेको छ
सायद
यतिबेला ग्रहण लागेको छ