रुपन्देहीमा १८ जनाले त्यागे नागरिकता

प्रकाशित मिति:

भैरहवा – रुपन्देही जिल्लामा गत आर्थिक वर्ष २०७५/०७६ मा १८ जना नेपालीले नागरिकता त्याग गरेका छन्। रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले १८ जनाले अन्य मुलुकको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्यागेको बताए। ‘विभिन्न कारणले गर्दा नेपाली नागरिकता त्यागेको पाइयो। नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाएने भएकाले पनि त्याग गर्नेको संख्या त्यति पुगेको हो,’ निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले भने।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरुले नागरिकता त्याग गरेको उनले बताए। त्यसैगरी, नेपाली नागरिकता लिएका ६ जनाको नागरिकता रद्द भएको छ। झुठो विवरण पेस गरेकाले उनीहरुको नागरिकता रद्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२६ हजारले लिए नयाँ नागरिकता – त्यसैगरी, गत आर्थिक वर्ष २०७५/०७६ मा रुपन्देहीमा कुल २६ हजार १ सय ८१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। तीन स्थानबाट नागरिकता वितरण हुने रुपन्देहीमा सो संख्यामा नागरिकता वितरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देही, ईलाका प्रशासन कार्यालय बुटवल र ईलाका प्रशासन कार्यालय मझगावाँ (मर्चवार)बाट नागरिकता वितरण हुँदै आएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट वंशजको आधारमा १३ हजार ३८ जना, वैवाहिक अंगीकृत २ हजार १ सय १५ जना, अंगीकृतका सन्तान ६२ गरी जम्मा १५ हजार २ सय १५, बुटवलबाट ८ हजार ७ सय २५ र मझगावाँबाट २ हजार २ सय ४१ गरी कुल २६ हजार १ सय ८१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए। त्यसै गरी जिल्लाबाट ७ हजार २९ जनाले राहदानी सिफारिस लिएका छन्। सो मध्ये १ हजार १ सय ३३ जनाले द्रूत सेवा लिएको कार्यालयले जनाएको छ। – नेपाललाइभ