रेल र जलमार्गबाट नेपाल भारतलाई जोड्न काम गरिरहेका छौं – ओली

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि रहेको बताए ।

आइतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै प्रधानामन्त्री ओलीले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पारवहन सहजीकरणमा जोड दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिँस्सा भारत र भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/ निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् । -खबर हब