क्रिकेट रंंगशाला निर्माणका लागि जुट्यो थप ८४ लाख

प्रकाशित मिति:

चितवन – चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको चेक महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई आइतवार हस्तान्तरण गरिन् ।

महानगरपालिकाका सरकारी विद्यालयका शिक्षकहरुको भने रकम उठन बाँकी नै रहेको जनाएको छ । शिक्षकहरुसँग आवश्यक छलफल पछि मात्रै रकम संकलन गरेर दोस्रो किस्ताका रुपमा फाउण्डेशनलाई हस्तान्तरण गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए । प्रशासकीय अधिकृत सुवेदीले आफ्नो व्यक्तिगततर्फबाट १ लाख ५१ हजार १५१ रुपैयाँ रंगशाला निर्माणका लागि दिए ।

यस्तै, चितवन उद्योग संघले पूर्व घोषणा गरेको ५१ लाख मध्ये पहिलो किस्ता वापत १२ लाख ७५ हजारको चेक संघका अध्यक्ष भेषराज दुवाडीले फाउडेशनका अध्यक्ष कट्टेललाई दिए । यस्तै अक्सफोर्ड कलेका प्रिन्सिपल हरि भण्डारीले दोस्रो किस्तावापत २ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दिए । उनले यसअघि नै २ लाख ३३ हजार ३ सय ३३ दिइसकेका छन् । हंस बहुउद्धेश्यीय सहकारीका अध्यक्ष दिनेश चुकेले संस्थाका तर्फबाट १० लाख दिने घोषणा गरे । व्यवसायी मित्रराज दवाडीले सर्वशक्ति सहकारीबाट ५ लाख ५५ हजार ५ सय ५५, लायन्सकर्मी रामप्रसाद भट्टले १ लाख १ हजार, चितवन जिल्ला वचत सहकारीबाट १ लाख दिने घोषणाा गरिएको छ ।

निर्देशक र महानगरस्तरीय समिति घोषणा धुर्मस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिका बीच भएको सम्झौताअनुसार रंगशाला निर्माण निर्देशक समिति गठन गरिएको छ । गत माघ १६ गते भएको सम्झौतामा निर्देशक समिति गठन गर्ने व्यवस्था छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको संयोजकत्वमा जिल्लाका उद्योगी व्यवसायी, अन्य स्थानीय तहका प्रमुख, प्रदेश सभाका सांसद, धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष र प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि, प्रहरी प्रशासनका प्रमुखहरु रहेको ३५ सदस्यीय निर्देशक समिति आज गठन गरिएको छ । भरतपुर महानगरपालिकास्तरीय महानगरीय सहयोग संकलन समिति उपमेयर पार्वती शाह ठकुरीको संयोजकत्वमा गठन गरिएको घोषणा कार्यक्रममा गरिएको छ ।

समितिमा महानगरपालिकाका २९ वटैं वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्था प्रतिनिधी, उद्योगी व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरु रहनेछन् । घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रंगशाला निर्माण र आर्थिक सहयोग जुटाउन एकदिन पनि ढिला नगर्न आग्रह गरिन् । रकम संकलन कार्यलाई त्रीवता दिइने भन्दैं मेयर दाहालले चितवनमा रंगशाला निर्माणका लागि महौल तात्दै गएको बताइन् । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले काठमाडौंमा गएर राष्ट्रियस्तरको सहयोग संकलन समिति, जनसम्पर्क समितिलगायतका विभिन्न समितिहरु गठन गर्ने जानकारी दिए । उनले रंगशाला निर्माणका लागि सकारात्मक माहौल बन्दैं गएको भन्दै उनले आफूमा ऊर्जा थपिएको र विश्वास बढेको बताए ।

गत जेठ १५ गते रंगशालाको पश्चिमी बारमा स्थानीयले डोजर लगाएपछि रोकिएको रंगशाला निर्माणको काम साउन ८ गतेबाट पुनः सुरु भएको थियो । रंगशाला निर्माणको काम पुनः सुरु भएपछि चितवनमा पछिल्लो एक हप्तामा मात्रै झण्डै पौने दुई करोड रकम संकलन भएको छ । रकम संकलनसँगै रंगशाला निर्माणको माहौल पनि बन्दैं गएको छ । जिल्लाका ७ स्थानीय तह मध्ये ६ वटा रंगशाला निर्माण सहयोग समिति गठन गरिएको छ । माडी नगरपालिकामा मात्रै समिति गठन गर्न बाँकी छ । -अनलाइनखबर