अन्तर्राष्ट्रिय बाघ दिवस : बाघ संरक्षणमा नेपाललाई सफलता, चितवनमा भने संख्या घट्यो

१३ श्रावण २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – अन्तर्रा्ष्ट्रिय बाघ दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ । विश्वबाट घट्दै गएका वा लोप हुने खतरामा पुगेका बाघको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले रहेक वर्ष दिवस मनाईन्छ । नेपालमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाईँदै छ । बाघका लागि नेपाल महत्वपूर्ण क्षेत्र हो । यहाँ दुर्लभ प्रजातिको पाटे बाघ पनि पाइन्छ । विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।

पछिल्लो पटक सन् २०१८ मा भएको बाघ गणनामा नेपालमा बाघको संख्या २३५ पुगेको पाइएको । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तुलनामा २७ वटा बाघ घटेका हुन् । तर बर्दियामा ३७ तथा बाँकेमा १७ वटा बाघ बढेका हुन् । सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटामा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी बाघको संख्या १९८ थियो ।

त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ । सन् २०१६ मा जारी भएको विश्व बाघ तथ्यांक अनुसार भारतमा दुई हजार २२६, रुसमा ४३३, इन्डोनेसियामा ३७१, मलेसियामा २५०, नेपालमा १९८ (हाल २३५), थाइल्याण्डमा १८९, बंगलादेशमा १०६, भुटानमा १०३, चीनमा सात, भियतनाममा पाँच तथा लाओसमा दुईवटा बाघ प्राकृति बासस्थानमा छन् । विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउँछन् । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो । नेपाल सरकारले पनि बाघ संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपालमा आउँदो सन् २०२२ मा पुनः बाघ गणना हुनेछ । त्यस बेला बाघको संख्या २५० प¥याउने लक्ष्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । पछिल्लो गणनामा चितवनमा बाघको संख्या केही कम भएको देखिनुको कारण खोजी भइरहेको विभागका उप–सचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जनाकारी दिएका छन् ।

हाल चितवन राष्ट्रिय निकुञ्जसहितका क्षेत्रमा बाघसहितका जनावरको ‘क्यारिङ्ग क्यापासिटी’ अर्थात धान्न सक्ने क्षमताबारे अध्ययन भइरहेका उनले बताएका छन् । चितवनमा बासस्थानका हिसाबले बाघ धान्न सक्ने क्षमता १२० को हाराहारीमा रहेको अनुमान गरिएको छ ।तर बाघको संख्या घटेको देखिनुमा चितवनका बाघ पर्सा तथा सीमा पारी भारतको जंगलतिर जानु पनि हुन सक्ने उनले बताए । कहिले उता (भारतको जंगलमा रहेका) बाघ यता आउने र कहिले उता जाने क्रम चल्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया