भ्रष्ट नेताहरु आँफै आत्महत्या गर्छन् : नेता भण्डारी

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारका सवै पखेटाहरुमा खिया लागिसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए । ‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् । गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन ।’ बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका बेला राष्ट्रयताबारे जनतालाई देखाएको सपना अधुरो बन्दै गएको बताए । उनले भने, ‘ओलीजी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पाँच बर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन् ।’

उनले भने-ँओलीजी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न । सरकारले सिन्को नभाच्दा पजि कांग्रेसलाई त फाइदै भएको छ । जनताका बिचमा जाने, अर्काे चुनावमा जित्ने । ’ कांग्रेस नेता भण्डारीले भ्रष्टाचारकै कारण मुलुकको विकासलेे गति लिन नसकेको दाबी गरे । ‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले आत्महत्या गरे । राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’, उनले भने ।

कांग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल परे पनि नेकपाले खुलमखुला भइरहेका भ्रष्टाचारलाई लुकाएको भन्दै नेता भण्डारीले वाइडबडी, ललितानिवास, बुढीगण्डकी लगायतका काण्डका दोषिलाई कारबाही गर्नैपर्ने बताए । उनले भने, ‘कांग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्तालगायतले जेल सजाय भोगी सके तर, नेकपा अध्यक्ष ओली अहिले वाइडवडी स्वीकार गर्न तयार हुनुहुन्न । बाहाना बनाइ रहनुभएको छ । दोषीहरु चुपचाप घुमिरहेको छन् ।’