एसईई पूरकको मुखैमा परीक्षा नियन्त्रक फेरिएपछी …

प्रकाशित मिति:

काठमाडौं – एसईई पूरक परीक्षाको मुखैमा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उपसचिव रामराज खकुरेललाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । उपसचिव खकुरेल यसअघि शिक्षक सेवा आयोगमा कार्यरत थिए । सोमबार अधिकारी मन्त्रालयमा हाजिर हुने र खकुरेलले निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्ने छन् । पूर्वपरीक्षा नियन्त्रक अधिकारीले अनलाइनखबरसँग भने, ‘म आजबाट मन्त्रालयमा हाजिर हुँदैछु ।’

राष्ट्रिय परीक्षा बोर्डको संशोधित तालिकाअनुसार भदौ १ गतेदेखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन हुँदैछ । यसअघि साउन २६ र २७ गतेका लागि परीक्षा मिति तोकिएको थियो । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थीहरुलाई ग्रेड वृद्धिको मौका दिन पूरक परीक्षा लिन लागिएको हो । दुई विषयमा अनुपस्थित विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

किन फेरियो अधिकारीलाई – सहसचिव अधिकारीले ०७५ मंसिर २६ गतेदेखि परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हालेका थिए । एसईई पूरक परीक्षा आउन २० दिन बाँकी रहँदा परीक्षा नियन्त्रकको जिम्मेवारीबाट मुक्त भए । पूरक परीक्षाको मुखैमा परीक्षा नियन्त्रक किन फेरियो भन्ने अहिले चासो छ । स्रोतका अनुसार अधिकारीले पर्याप्त जनशक्ति नभएकाले कार्यसम्पादनमा गाह्रो भएको गुनासो गर्दै आएका थिए । किनभने साविकको ६४ जनाको दरबन्दी कटौती गरेर परीक्षा नियन्त्रण कार्यालयमा २३ दरबन्दी कायम गरिएको छ । काजमा कार्यरतसहित हाल ३५ कर्मचारीले कार्यालय धान्दै आएका छन् ।

आवश्यकताअनुसारको जनशक्तिको व्यवस्था नभएपछि उनी आफैंले जिम्मेवारी मुक्त गरिदिन आग्रहसहित मन्त्रालयमा पत्र लेखेका थिए । त्यो कुराको पुष्टि गर्दै अधिकारीले अनलाइनखबरसँग भने, ‘म बूढो मान्छे कति खट्नु, बरु युवा जोश भएकालाई जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर म आफैंले परीक्षा नियन्त्रकको जिम्मेवारीबाट अलग हुन्छु भनेको थिएँ ।’ – अनलाइनखबर