टुंगिँदै नेविसंघको विवाद !

प्रकाशित मिति:

काठमाडौं – नेपाल विद्यार्थी संघ नेविसंघको विवाद टुंगो लाग्ने भएको छ । नेविसंघको माउ पार्टी नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले भगिनी संस्थाको विवाद टुंगो लगाउन लागेको हो । गत वर्ष नै सकिएको नेविसंघको कार्यकालमा वर्ष विवादले गर्दा अलमल भएको थियो । अब ३२ वर्ष उमेरभित्रै रहेर तदर्थ समिति बनाउन सभापति शेरबहादुर देउवा तयार भएपछि नेविसंघ विवाद समाधानतिर पुगेको हो ।

देउवा पहिले आफ्नो पक्षको विद्यार्थी नेता नआउने चिन्तामा उमेर समूहमा जान मानिरहेका थिएनन् । अब भने आफ्नै पक्षको नेता पाएपछि उनी ३२ वर्षभित्रकै उमेर समूहको तदर्थ समिति बनाउन सहमत देखिएका हुन् । तदर्थ समिति बनाएपछि उसैले नै चुनाव गराउने छ । तर यसअघि पनि चुनावका लागि देउवाले पटक पटक समय दिए पनि चुनाव भने गराउन सकेको थिएन ।

नेविसंघको विवाद समाधान नभएकैले गर्दा वर्षौंदेखि शिक्षण संस्थाहरुमा स्ववियु निर्वाचनसमेत हुन सकेको छैन । भ्रातृ संस्थाहरुको विवाद र महाधिवेशन गर्ने मिति सकिएपछि तदर्थवादमै चलिरहेका छन् । केहीको निर्वाचन तत्काल गर्नुपर्नेछ । तरुण दलको पनि भदौमा म्याद सकिँदैछ । काँग्रेसभित्र भ्रातृ संस्थाहरुलाई सशक्त बनाएर अगाडि नबढेसम्म पार्टी बलियो नहुने भन्दै चर्को दवाव आउने गरे पनि देउवा भने सुस्ताउँदै गएका छन् । पार्टी मुख्यालय विपीनगर सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनका लागि प्रारम्भिक तयारी थाल्ने संकेत दिएको छ । अहिले तयारी थाल्दा पनि महाधिवेशन गर्न भने झण्डै डेढ वर्ष लाग्नेछ ।