गुल्मीको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइँयो

प्रकाशित मिति:

गुल्मी – सत्यवति गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध हुँदा खाद्यान्न संकट भएपछि हेलिकोप्टरमार्फत राहत पुर्‍याइँएको छ । सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट तम्घासमा बिभिन्न संघसंस्थाबाट उपलब्ध भएको २३ क्वीन्टल राहतका सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइँएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । हेलिकोप्टरमार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा पुर्‍याइँएको छ ।

काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट र तीन सय १० थान हुट र रेडक्रस सात बोरा, फलामको काटी दुई किलो, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठूलो लुम्पेकमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । प्रभावित क्षेत्रमा गुल्मी अस्पतालबाट जीवनजल, गज, सिटामोल र ग्लोब अन्य औषधि पनि पठाइएको छ । तम्घास र काठमाडौंबाट ल्याइएको राहत सामाग्री २ पटक गरेर हेलिकोप्टरमार्फत पठाइएको हो ।

गत मंलवार राति सत्यवति गाउँपालिका-३ र ४ को ठूलो लुम्पेक र लिम्घामा पहिरो जाँदा ३०७ घर परिवारका १२ सय ६० जना प्रभावित भएका छन् । विस्थापितहरुलाई धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।प्रभावित क्षेत्रमा नेपाली सेनाले अस्थायी बाँसको लागि पालमार्फत बस्ती बसाल्न घरहरु निर्माण सुरु गरेको वीरभद्र जंग गुल्म गुल्मीका सेनानी रवीन्द्र महर्जनले बताए । ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५०० वटा पहिरो गएका छन् । ५ वटा २ किलो मिटरसम्मका ठूलो पहिरो गएका छन् । पहिरोमा परी सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडानम्बर ७ को छापचौरमा १ जना गरी १४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ । – अनलाइनखबर