निर्मला हत्या प्रकरणः अनुसन्धान पुरानै लयमा

प्रकाशित मिति:

 कञ्चनपुर – कञ्चानपुर भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा प्रहरीले शुरु अनुसन्धानलाई प्राथमिकतामा राख्न थालेको छ । गतबर्षको साउन १० गते उनको बलात्कारपछि हत्या भएको थियो । सो घट्नाको सम्बन्धमा प्रहरीले शुरुमै दिलीपसिंह विष्टलाई आरोपीको रुपमा सार्वजनिक गरेको भएपनि डिएनए परीक्षण नमिलेपछि छाडेको थियो ।

प्रमाण नष्ट गराएको आधारमा आधा दर्जन प्रहरी अझै निलम्बनमा छन भने दुई जना प्रहरी अधिकृतको जागिर नै गएको छ । अहिले प्रहरी प्रधानकार्यालयले शुरु अनुसन्धानलाई नै आधार मानेर पुन अनुसन्धान शूरु गरेको छ । ‘ नेपाल प्रहरीकै इतिहाँसमा सबैभन्दा बढी समय खर्च भएको यो अनुसन्धानलाई टुंगो पुर्याउन उदेश्यसहित शुरु अनुसन्धानमा फर्कन लागिएको हो केही क्लुहरु फेला परेका छन्’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार दीलिपसिंह विष्टनै अपराधी हुन भन्ने विषयमा चर्चामा आएपछि प्रहरी उपरीक्षक डिएसपी अंगुर जीसीको अनुसन्धान प्रतिवेदन पुन पल्टाउन शुरु गरेको हो ।

अहिले पनि केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अधिकारीहरु कञ्चनपुरमै छन् । पन्तको शरीरबाट डीएनए परीक्षणका लागि भेजाइनल स्वाब लगायतका नमुना सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट सङ्कलन गरेको पाइएको, जुन प्रक्रिया पूर्णतः दोषमुक्त छ भनी भन्न नसकिने भन्दै विज्ञ समूहको प्रतिवेदन समेत आएको अवस्थामा प्रहरी अनुसन्धान पुरानै लयमा फर्किएको हो । डिएनए यसरी सङ्कलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए सङ्कलन नहुने र त्यो ह्रास हुँदै जाने, नष्ट हुन सक्ने र परिणाम सही नआउने समस्या रहेको पाइको र मूलतः नमुनाहरू सङ्कलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको रहेकाले पनि प्रहरी पुरानै लयमा फर्किन बाध्य भएको स्रोतको दावी छ ।