अष्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना, दुईको मृत्यु, ३ घाइते

प्रकाशित मिति:

स्याङ्जा – अष्ट्रेलियमा कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ।अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो। अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दुर्घटनामा परेको हो। उनीहरु ३ वटा कारमा थिए। अन्य १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ।

क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताए। आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दुर्घटनामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ। मृतक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबको छ। – यो खबर अन्नपूर्णमा भवानी अधिकारीले लेखेकी छन ।