पर्रोहा बोलबम धाममा जलार्पण गर्नेको घुइँचो

प्रकाशित मिति:

बुटवल – पश्चिमको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ । भक्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल ल्याइ यहाँ ल्याएर अर्पण गर्दछन् ।

दर्शनार्थीको भीडका कारण बिहान ३ बजेदेखिनै धामको ढोका खुला गरिन्छ । गुरुपूणिर्मादेखि जनैपूणिर्मासम्म एक महिना सञ्चालन हुने यहाँको बोलबम मेलामा भगवान् शिवलाई जलार्पण गर्न नेपालका विभिन्न जिल्ला र भारतको उत्तर प्रदेश, बिहारका विभिन्न जिल्ला सहित हरिद्वार र हरियाणाबाट समेत भक्तजनहरु जलार्पणका लागि आउने धामका अध्यक्ष रामबली चौधरी बताउँछन् । ‘सोमबार सबैभन्दा धेरै दर्शनार्थी आउँछन्,कुनै सोमबार त एक लाख जनासम्म आउँछन्,’ चौधरीले भने । कतिपय भक्तजनहरु टाढाटाढाबाट पैदलयात्रा गरेरै जलार्पण गर्न आउने गर्छन् । ‘बिहान ४ बजे मन्दिरमा आइपुगेका थियौं, लामो लाइनले गर्दा साढे ६ बजे जलार्पण गर्ने पालो पायौं,’ मुर्गियाबाट धाममा पुगेकी निर्मला बेल्बासेले भनिन्, ‘दर्शनार्थीको भीडअनुसार छिटो छरितो हुने गरी व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’ २०४८/४९ सालतिर यहाँका हिन्दू धर्मावलम्बीहरू श्रावणी मेलामा जलार्पणका लागि भारतको झारखण्डस्थित बैजनाथ धाममा जाने प्रचलन रहेकामा दुई दशकदेखि पर्रोहाको स्वयंम उत्पत्तिमान ज्योतिर्लिङ्गको महत्व र प्रचार प्रसारका कारणले अहिले यहां भारतीयहरुको आकर्षण बढेको धामका मूल पूजारी चन्द्र नेपाल बताउँछन् ।

बोेलबम यात्राका क्रममा दर्शनार्थीहरुले चर्को घाम र वर्षाको समेत प्रवाह नगरी जलार्पणका लागि आउने गरेका नेपालले बताए । पैदल मात्र नभइ सुतेर शरीर नापेर यात्रा गर्ने, श्रवणकुमार झैँ बाबुआमा बोकेर तीर्थस्थलदेखि बोलबम धामसम्म यात्रा गर्नेहरु पनि यहाँ भेटिन्छन् । बुटवलबाट १४ किलोमिटर पश्चिम पूर्व-पश्चिम राजमार्गको रानिबगियाबाट दुई किलोमिटर दक्षिणमा अवस्थित पौराणिक कालको ज्योतिर्लिङ्ग रहेको पर्रोहा परमेश्वरधाम ३२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

धाममा मूल मन्दिर, १०८ शिव लिङ्ग, अर्धचन्द्र आकारको धाम सरोवार, धाम सरोवरमा साढे ५ फुट अग्लो शिवजीको मूर्ति छ । गणेश, हनुमान, सन्तोषीमाता, पार्वती, लक्ष्मी नारायण, राधकृष्ण मन्दिर पनि छन् । साधु सन्त निवास, पुरानो धर्मशाला, पाकशाला रहेका छन् । अहिले गुरुयोजना बनाएर काम भइरहेको छ । धामको नाममा सरकारले हुलाक टिकटसमेत प्रकाशित गरेको छ । श्रावणी मेलामा यहाँ बाल उद्यान र दर्जनौं ब्यापारिक स्टलहरु समेत रहने गर्छन् । यो वर्ष पाँच लाख भक्तजनले जलार्पण गर्ने अनुमान गरिएको अध्यक्ष चौधरीले बताए । दर्शनार्थीको व्यवस्थापनका लागि स्थानीय स्वयम्सेवक, आमा समूह र प्रहरी खटाइएको छ ।

करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेको जनश्रुति रहेको छ । उनले शिवलिङ्गलाई आˆनो घरमा लगेर स्थापना गर्ने प्रयास गरेका र खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकेको भनाइ छ ।त्यसै समयमा चौधरीले सपनामा शिवलिङ्गले कोही कसैले मलाई कहीँ लान पाउँदैन भनकोे सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए । मन्दिर निर्माण पूरा नहुँदै उनको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा शुरु भएको थियो । अहिले पनि स्थानीय थारुहरुले मन्दिरलाई विषेश महत्व दिएर पूजा आजा गर्छन् । २०३५ सालमा भारतको पञ्जागढ झारढोर भन्ने ठाउँबाट १०८ स्वामी रमेश गिरी बोलबमधाममा आएका थिए ।

उनलाई नागाबाबाका रुपमा पनि चिनिन्छ । ती नागाबाबाले सो स्थानको संरक्षण र व्यवस्थापनमा लागेका थिए । नागाबाबाले मन्दिर निर्माणका लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराएका थिए । २०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको, २०४८ सालमा मन्दिर स्थापना भएको र ०४९ सालबाट बोलबमधाममा जलार्पण गर्न शुरु भएको स्थानीयहरु बताउँछन् ।