अन्तत अध्यक्षकै जिम्मामा स्कुल बिभाग

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पूर्वएमाले र पूर्वमाओवादीबीच स्कुल विभागबारे सहमति नजुटेपछि अध्यक्ष मातहतमै राख्ने सहमति भएको छ। पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षले स्कुल विभागमा दाबी नछाडेपछि अध्यक्ष मातहतमै राख्ने सहमति भएको हो। अध्यक्ष प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका नेकपाका नेताहरुलाई उनले स्कुल विभाग अध्यक्ष मातहतमा राख्ने सहमति भएको बताएका हुन् । ‘स्कूल विभाग हाललाई अध्यक्ष मातहात राखेर जाने भन्ने विषया सहमति भएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो’, एक नेताले भने, ‘अब त्यही नै अन्तिम निर्णय हुन सक्छ।’

स्कुल विभागको प्रमुखमा को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा विभागीय प्रमुखहरुको जिम्मेबारी बाँडफाँट अवरुद्ध छ। यसै कारण गृहकार्य नपुगेको भन्दै नेताहरुले पटक पटक सचिवालय बैठकलाई सार्दै आएका छन्। सोमबार अपरान्ह तीन बजेका लागि सचिवालयको बैठक बोलाइएको छ। स्कूल विभागमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ तथा पूर्व एमालेबाट ईश्वर पोखरेल आकांक्षी देखिएका थिए। पूर्व एमालेका घनश्याम भुसाल र बेदुराम भुसालले पनि सो विभागमा दाबी गरेपछि स्थिति पेचिलो भएको थियो।

नेकपाभित्र स्कुल विभागको विषयमा पूर्व एमाले दुई भागमा विभाजित छ। पूर्वमाओवादी खेमा आफूले सो विभाग पाउनुपर्ने बताउँदै आएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितका केही नेता पोखरेलको पक्षमा छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम श्रेष्ठको पक्षमा सकारात्मक छन्। यसअघि दुई अध्यक्षबीच स्कूल विभागमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लैजाने सहमति भएको थियो। खनाल त्यसमा सकारात्मक देखिएका थिए। तर पार्टीभित्र दुई ध्रुवमा विभाजित अन्य आकांक्षी मत्थर पार्न नसक्ने अवस्था देखिएपछि अध्यक्षले नै राख्ने स्थिति बनेको हो।