जान्नुहोस् रिटोटलिङ के हो ? गर्ने कि नगर्ने ?

प्रकाशित मिति:

काठमाडौं – ‘परीक्षामा भनेको जस्तो नम्बर आएन यार’ एउटा साथीले अर्कोलाई भन्छ । ‘त्यसो भए रिटोटलिङ गर न त यार’ अर्को साथीले जवाफ फर्काउछ । नतिजाको भोलिपल्ट कलेज आइपुग्ने बित्तिकै एकले अर्काको नतिजा सोध्ने क्रम चल्छ । त्यसै मध्ये कुनै विद्यार्थीले भन्छ, ‘के नम्बर हाल्देको होला यार, मलाई त पटक्कै चित्त बुझेन, गएर रिटोटलिङ गर्छु ।’  माथिका देखाइएका उदाहरण बिद्यार्थीमाझ धेरै प्रचलित ‘डाइलग’ हुन् भन्दा फरक पर्दैन । हुन पनि हरेक पटक प्लस टु को होस या अन्य कुनै तहको नतिजा, सोचेको भन्दा अलिकति फरक अङ्क आउने बित्तिकै विद्यार्थीको दिमागमा रिटोटलिङ भन्ने शब्द आइहाल्छ ।

के हो रिटोटलिङ ? यो विद्यार्थीलाई दिइने एक प्रकारको सेवा हो । कुनै पनि विद्यार्थीलाई आफुले परीक्षामा प्राप्त गरेको अङ्क चित्त नबुझेमा “मेरो उत्तरपुस्तिका फेरि परिक्षण गरि पाँउ” भनेर निवेदन दिने प्रक्रिया नै रिटोटलिङ हो । यसको नेपाली प्रचलित शब्द “पुनर्योग” हो । सामान्यतया: मानिसहरुलाई एक खालको भ्रम छ, रिटोटलिङ भनेको नम्बर जोड्न बिर्सेको खन्डमा जोड्ने मात्र हो भनेर । तर त्यति मात्र भने पटक्कै हैन ।

रिटोटलिङले कसरी काम गर्छ ? आउनुहोस्, यो बिषयमा अझै स्पष्ट पारौं है त ! प्लस टु को सन्दर्भमा भन्नुपर्दा सबै भन्दा पहिले कुनै बिद्यार्थीले आफ्नो अङ्क चित्त बुझेन भनेर राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा निवेदन दिन्छ । सोहि निवेदन अनुसार अब बोरामा खादेर राखिएको उत्तरपुस्तिकाको खातबाट उसको उत्तरपुस्तिका निकालिन्छ । अब त्यो बिद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाइन्छ र साथमा सोही बिषयमा निकै लामो अनुभव हासिल गरेका शिक्षकलाई सङै राखेर उत्तर पुस्तिका परीक्षण गराइन्छ । त्यसो गर्दा नम्बर फरक नपरेमा ठिकै छ, तर १० भन्दा धेरै अङ्क फरक परेमा त्यो उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई कालोसूचीमा राखिन्छ र २ देखि ५ बर्षसम्म कुनैपनि परीक्षाको उत्तरपुस्तिका निरीक्षण गर्न नदिने ब्याहोरा सो शिक्षकले अध्यापन गराउने स्कुल/कलेजलाई समेत जानकारी गराइन्छ ।

त्यसो भए रिटोटलिङ गर्ने नि नगर्ने ? राष्ट्रिय परीक्षा बोर्डका सोही फाट हेर्ने पदाधिकारीसग हामीले केही दिन अगाडि कुरा गरेका थियौं । उहाँहरुको भनाइ अनुसार हरेक बर्ष करिब ११/१२ हजारको संख्यामा रिटोटलिङको आबेदन नेपालभरका राष्ट्रिय परीक्षा बोर्ड कार्यालयमा पर्दछ । तर जम्माजम्मी २ देखि ३ सय जनाको अङ्क मात्र फरक पर्ने गर्दछ । अझ रिटोटलिङ गर्दा अङ्क घटेमा पुरानै कायम गरिने ब्यवस्था मिलाइएको छ । यो ब्यवस्था नभएको भए कति बिद्यार्थीको अङ्क घट्ने थियो भन्ने कुराको त हिसाब नै नगरौं होला । यस्तो हुँदा हुदै पनि बिद्यार्थीहरुको क्रेज ‘रिटोटलिङ’ प्रति किन बढेको होला त ? एउटा कारण हो अनुभबको कमी !

एसएलसी र प्लस टुको पाठ्यक्रममा ब्यापक भिन्नता छ । कतिपय बिद्यार्थीले प्लस टुलाई पनि कक्षा १० सरह ठान्छन् र त्यसरी नै परीक्षामा अङ्क प्राप्त गर्नुपर्ने सोच राख्छन् । यसले गर्दा विद्यार्थीको नतिजा सोचेअनुरुप आउँदैन र रिटोटलिङ गर्ने सोच उसमा मनमा पलाउन थाल्छ । अन्य कारणहरु भनेका विद्यार्थीको लेख्ने शैली, प्रश्नलाई बुझ्ने क्षमता पनि हुन् । प्रश्नले एक थोक भनिरहेको हुन्छ, बिद्यार्थी अर्कै बुझेर उत्तर दिन्छन् । यसरी त अङ्क थोरै आउने नै भयो नि !

अब के गर्ने त ? अन्तमा: रिटोललिङ त्यो बेला मात्र गरौं जुन बेला तपाइँले प्राप्त गरेको अङ्क आफ्नो मन देखि नै स्विकार गर्न सक्नुहुन्न । २-४ नम्बर भए नि बढ्छ, के भयो र भनेर रिटोटलिङ गर्नु पैसा र समय दुबै बर्बाद गर्नु सिवाय केही हैन । फेरि रिटोटलिङको नतिजा कुर्दाकुर्दै महत्त्वपूर्ण समय बितिसक्ला र झनै पछुतो नहोला भन्न सकिन्न किनकी रिटोटलिङको नतिजा कहिले आउँछ भन्ने टुङ्गो नै हुदैन ।(रिटोटलिङ गर्न नतिजा सार्बजनिक भएको १५ दिन भित्रमा रु. पाँच सय प्रति बिषयका दरले शुल्क तिरी राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्छ । )

प्रस्तुति: सौगात पोखरेल /मेरोस्टडी