एनआरएनएको अध्यक्षमा आचार्यले गरे उम्मेद्धारी घोषणा

प्रकाशित मिति:

बुटवल – गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेद्धारी घोषणा गरेका छन्। एनआएनएको वर्तमान केन्द्रीय उपाध्यक्ष समेत रहेका आचार्यले आगामी अक्टोवरमा काठमाडौंमा हुने गैह्रआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका हुन्। आफुले नेतृत्व दोहोर्‍याउने बताउँदै आएका वर्तमान अध्यक्ष भवन भट्टले अवको कार्यकालका लागि उम्मेद्धारी नदिने घोषणा गरेलगत्तै आचार्यले आगामी नेतृत्वका लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन्। विगत डेढ दशकदेखि एनआएएनएको विभिन्न पदहरुमा रहेका काम गर्दै आएका आचार्यले सवैपक्षहरुसंगको सल्लाहमा आफु गैह्रआवासीय नेपालीहरुको नेतृत्वका लागि उम्मेद्धारी घोषणा गरेको बताए। ‘डेढ दशकदेखि यस संस्थासंग आवद्ध रहेर म विभिन्न पदहरुमा रहेर काम गर्दै आइरहेको छु,’ उनले भने ‘अग्रजहरुको सल्लाह र साथिहरुको आग्रहमा मैले अव अध्यक्षमा उम्मेद्धारी दिने निर्णयमा पुगेको छु।’

लण्डनका व्यावासायी समेत रहेका उनले आफु हाल एनआरएनएको उपाध्यक्ष रहेकाले अध्यक्षको उम्मेद्धारी स्वभाविक भएको समेत बताए। आफुले एनआरएनएको नेतृत्व लिए सवै पक्षलाई समेटेर गैह्रआवासीय नेपालीहरुको हक हित र नेपालको विकासका लागि अघि बढने समेत आचार्यले बताए। उनले संस्थापक अध्यक्ष, पूर्व अध्यक्षसंग नजिक बसेर काम गरेको र आफुले नेतृत्व गरेका शंखमुल पार्क निर्माण, संयुक्त लगानी खडा गर्ने काम लगाएका परियोजना सफल भएको बताउँदै आफुले नेतृत्व लिएमा सवै पक्षको सहयोग रहने विश्वास समेत व्यक्त गरे। एनआएनए गैह्रराजनीतिक संस्था बनेमा मात्रै यस संस्थाको गरिमा बढने बताउँदै आचार्यले एनआरएनए जस्तो संस्थामा बन्द कोठामा दुई तीन जना बसेर निर्णय गर्नुभन्दा प्रजातान्त्रिक विधिले खुलाप्रतिस्पर्धामा नेतृत्व चयन गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। एनआरएन युकेको कार्यसमिति सदस्य, उपाध्यक्ष, अध्यक्ष, अन्र्तराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजकको रुपमा काम गरिसकेका आचार्य आठौं महाधिवेशनबाट हाल संघको केन्द्रीय उपाध्यक्ष छन्। अध्यक्षमा उम्मेद्धारी घोषणा गरेसँगै अव आचार्यको अर्का उपाध्यक्ष कुमार पन्तसंग प्रतिस्पर्धा हुने देखिएको छ।