सभामुख एउटा दलकाे नेता : गगन थापा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदलाई केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो लाचार छाया बनाएको आरोप लगाएका छन्। बुधबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुले उठाएको विषयको सम्बोधन नभएसम्म सरकारसँग कुनै किसिमको सम्झौता हुन नसक्ने स्पष्टीकरण दिए। ‘एउटा विषयलाई लिएर संसद अवरुद्ध छ ।

संसदभित्र छलफल हुनुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ’, उनले भने, ‘तर हामीलाई संसदमा सभामुखले स्वतन्त्र भएर निर्णय गर्न सक्नुहुन्छ कि सक्नु हुन्‍न भन्ने कुराको डर छ।’ नेता थापाले यसअघि नै सभामुखले संसदीय छानबिन समिति बन्छ भनेर आश्वासन दिएको बताउँदै तर अहिले उनी सरकारको प्रभावमा परेको दाबी गरे। ‘हामीले त्यो बेला सभामुखको कुरा मान्नुपर्छ भनेका थियौँ। तर हामी भन्दा संसद अवरुद्ध गर्ने साथीहरुले पहिले सभामुखको अवस्थाबारे बुझेका रहेछन्’, थापाले अगाडि भने, ‘सभामुख सरकारको छाया जस्तो हुनुभयो। सभामुख साझा हुन सक्नु भएन, एउटा दलको नेता हुनुभयो।’ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे अध्ययन गर्न संसदीय समिति बनाइएको थापाले स्मरण गराए ।

‘सुशील कोइराला प्रम हुँदा बाराको दुर्घटनाको पनि छानबिन समिति बनेको छ’, उनले भने, ‘राज्यले बल प्रयोग गर्दै शक्तिको दुरुपयोग ग¥यो। संसदीय छानबिन गठन हुनुपर्छ।’ ओली सरकारले संसदलाई नै निर्देशित गरेको बताउँदै संसदीय समिति संसदबाटै बन्ने उल्लेख गरे। ‘संसदमाथि हस्तक्षेप गर्न सरकारले बल प्रयोग गरेर प्रतिष्ठाको विषय बनाएको छ’, उनले भने, ‘केही दिनअघि गृहमन्त्रीले छानबिन समिति बनाउँदैनौँ भनेर गएका थिए। समिति त सदनले बनाउने कुरा हो। संसदीय छानबिन समिति नबनेसम्म सम्झौता हुँदैन।’ उनले सरकारले संविधानको उलंघन गर्दै गएको बताए । ‘सरकारले संविधानको उलंघन गर्दै गर्दा प्रतिरोध गर्ने शक्ति पनि चाहिन्छ’, थापाले भने, ‘प्रतिरोध गर्ने शक्ति गुम्न नदिन तत्काल सरकारसँग कुनै सम्झौता हुँदैन।’