विश्व आदिवासी जनजाति दिवस मनाइंदै

प्रकाशित मिति:

बुटवल, १५ साउन । आदिवासी जनजाति आन्दोलन जारी रहेको जनजाति अगुवाहरुले बताएका छन् । नयां संविधान र स्थानीय सरकारहरु बनेपछि आदिवासी जनजातिका हक अधिकार कटौति गरिएको उनीहरुको भनाई छ । २५ औं विश्व आदिवासी जनजाति दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा जनजाति अगुवाहरुले सुस्ताएको जनजाति आन्दोलनलाई नयां ढंगले उठाउनुपर्नेमा जोड दिए । अन्तरिम संविधानले दिएका अधिकारहरु नयां संविधानले खोसेको भन्दै खोसिएका अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेको आदिवासी जनजाति महासंघ रुपन्देही अध्यक्ष शंकर गाहामगरले बताए । उनले स्थानीय तहहरुले आदिवासी जनजाति र अनय लक्षित वर्गका लागि छुट्टाउनुपर्ने रकम नछुट्टाई अन्यत्रै खर्च गर्ने गरेको समेत बताए ।

यसैबीच रुपन्देहीमा पनि ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने भएको छ । साताव्यापी कार्यक्रम अन्तरगत साउन १७ गते ‘स्थानीय तहको बजेटमा लक्षित वर्गको अवस्था र पहुच’ विषयक अन्तरक्रिया, १८ गते लुम्बिनी प्रादेशीक अस्पतालसहित ४ वटा अस्पतालमा फलफूल वितरण, १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते ड्राइभरटोलदेखि गोलपार्क हुँदै थकालि सेवा समाजको भवनसम्म भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिने महासंघका रुपन्देही अध्यक्ष शंकर गाहामगरले जानकारी दिए ।  यस्तै दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत याली सहित सभाको आयोजना गरिने महासंघ रुपन्देहीका सचिव चित्रलाल तुलाचनले बताए ।
पत्रकार सम्मेलनमा महासंघका विरबहादुर लामा लगायतले आफ्ना धारणा राखेका थिए ।