सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर स्थगित

प्रकाशित मिति:

काठमाण्डौ – आज बोलाइएको प्रतिनिधिसभाको बैठक साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख कृष्ण बहादुर महराले आह्वान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायतको उपस्थिति रहेको थियो ।

प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत सहभागी भएका थिए । यसैगरी बैठकमा प्रतिपक्षी राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको थियो । यस अघि बसेको संसदको बैठकमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने, बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने लगायतका माग राख्दै कांग्रेस र राजपले संसद अवरुद्ध गर्दै आएको छ ।