योगेशलाई यसकारण म बधाई दिन्न

प्रकाशित मिति:

हेमन्त गिरी

युवा नेता तथा नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको उमेर ५३ वर्ष रहेछ । नेकपा तथा नेकपा इतरका प्रायः युवाहरूले ’आश लाग्दा युवा नेता मन्त्री भए अब केही हुन्छ कि !’ भन्ने आशयका स्टाटस र लेख लेखिरहेका छन हिंजो देखि । राजनीतिमा खासै चासो नराख्ने किशोर देखि जिज्ञासु युवा हुँदै गर्दा हामीले मज्जा संग सुनेको र मज्जै संग चिनेको नाम हो- योगेश भट्टराई । सायद त्यो नाम अनुसारको उनको कद छिट्टै नै बनेकोले हुनुपर्छ । योगेश भट्टराई विद्यार्थी काल देखि नै राजनीतिमा लागे । चर्चा पनि कमाए । वाककला,तर्क,अध्ययन लगायतमा पनि आफूलाई ठीकठाक राखे । तर उनलाई मन्त्रीको काकताली ५३ वर्षको उमेरमा आएर पर्यो ।

६५ वर्ष पछि वृद्ध भत्ताको व्यवस्था स्वयं राज्यले नै गरेको छ । यसको अर्थ हुन्छ- ५५ वर्ष पछि मानिसमा बुढयौली देखिन थाल्छ र त्यसको १० वर्ष पछि त ऊ राज्यले नै सघाउनु पर्ने गरी वृद्ध बन्छ । तर्क गरिएला- युवा अवस्था भनेको उमेर हैन, जाँगर हो । बिल्कुल हो । मलेशियामा १०० वर्ष पुग्दै गरेका महाथिरले कुशलता पूर्वक शासन सम्हालिरहेका छन । सकिन्छ- उमेर ढल्किए पनि देश र जनताको लागि काम गर्न सकिन्छ । केही उदाहरणीय अपवाद नभएका पनि हैनन । तर नेता वा शासक ‘बायोलोजिकली’ फिट हुनु पनि देश फिट हुनको लागि पहिलो शर्त हो । शासकहरूको उपचार र सुविधामा बहुतै ठूलो मूल्य चुकाइरहेको देशको नागरिकमा पर्छौं हामी । हामीकहाँ आफै छाता ओढ्न सक्ने,आफै जुत्ता लाउन सक्ने,आफै झोला र कोट समाउन सक्ने शासकहरू बहुत कम छन । अझ त्यसैमा उमेरको बुढयौली र रोग थपियो भने के होला ?!

प्रश्न यी मात्र हैनन । अहिले जुन जुन युवाहरूले योगेशलाई ट्याग गर्दै ‘दाई बधाई’ लेखिरहेका छन उनीहरू हाल कति वर्षका होलान ? लगभग २५ देखि ३५/४० । योगेश जत्तीको मान्छेलाई मन्त्री बन्न त ५३ वर्ष सम्मको उमेर कुर्नु पर्यो भने राजनीतिक महत्वाकांक्षा बोकेका उनीहरूलाई झन कति समय कुर्नु पर्ला ? क्षमता नभएका त यसै निश्तेज भएर जालान, क्षमता भएकाहरूले कुन बाटो समाउलान ? विकल्प के देख्लान, शक्ति र सत्ताको चाकड़ी वा विद्रोह ? अब मुख्य प्रश्न आउँछ ! के राजनीतिमा योग्य योगेशहरू नभएर युवाहरूलाई मन्त्री बन्न ५३ वर्षको उमेर कुर्नु परेको हो त ?! प्रश्नको उत्तर प्रश्नले नै दिन्छन !
– कोईराला,देउवा,दाहाल,चन्द,थापा,भट्टराई,ओली हरू कुनै विष्णुको अवतार भएर पटक पटक (स्वास्थ्यले साथ नदिंदा सम्म पनि) प्रधानमन्त्री भएका हुन ?!
– विजयकुमार गच्छादार,राजेन्द्र महतो,बामदेव गौतम,रामशरण महत,कृष्ण बहादुर महरा,वर्षमान पुन,विष्णु पौडेल,कमल थापा,खुम बहादुर थापा,मत्रिका यादव,उपेन्द्र यादव लगायतका हरू कुन विलक्षण प्रतिभाको कारण पटक पटक मन्त्री भए ?!
– आजका योगेश भोलीका गच्छादार,महत र महरा नबन्लान भन्ने के ग्यारेन्टी छ !?
– आज ‘बधाई दाई’ लेख्ने युवा कमरेडहरू वृद्ध भत्ता बुझ्नु ठीक अगाडी त्यो पनि चाकड़ीको पापड बेली बेली बल्ल तल्ल मन्त्री पद सुँघ्न पाउने हुन वा हैनन भन्ने के ग्यारेन्टी छ ?!

केही समय पहिले राजनीति गर्ने एक युवा साथीलाई मैले प्रश्न गरेको थिएँ – कहिले सांसद बन्नुहुन्छ ? कहिले मन्त्री बन्नुहुन्छ ? कहिले निर्णय गर्न सक्ने र आफूले चाहेको परिवर्तन गर्न सक्ने लेभलमा पुग्नुहुन्छ ? भनेर ! जवाफ प्रश्नमा नै आएको थियो – राजनीति गणित हो र यार ?

राजनीति गणित हो वा विज्ञान हो त्यो राजनीति गर्नेले नै जानून तर गच्छादार,महत,महरा र वर्षमान हरू दर्जन पटक मन्त्री भइसक्दा पनि अनि महेश बस्नेतहरूले झ्याप्पै मन्त्री पद पाउँदा र अभिषेक प्रताप शाह तथा गायत्री शाहहरूले पैसा र पहुँचको भरमा ३० अघि नै सांसद पद भेटाउँदा पनि दुई दशक अघि देखि हामीले जुझारू युवा नेता भनेर नाम सुन्दै आएका योगेशले ५३ वर्षको उमेरमा मन्त्री बन्ने सौभाग्य पाउनु चाहिं अनौठो गणित नै हो । बहुतै अनौठो गणित हो ! ‘सो कल्ड’ युवा नेता योगेशलाई बधाई हैन, मेरो सहानुभूति सहितको शुभकामना छ ।