विद्यालयमा अनुगमन विरलै

प्रकाशित मिति:

काठमाडौँ – ललितपुरको कुपण्डोलस्थित प्रगति शिक्षा सदन माध्यमिक विद्यालयमा अनुगमनका लागि शिक्षाका कर्मचारी नगएको १७ महिना नाघेको छ । गत २०७४ साल फागुन २ गते तत्कालीन जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल पुग्नुभएको थियो । यसबीचमा जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन भई शिक्षा विकास तथा समन्वय एकाइमा रूपान्तरित भइसकेको छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण भइसकेपछि विद्यालय अनुगमन, निरीक्षण तथा नियमन हुन सकेको छैन । स्थानीय तहमा कर्मचारी अभाव हुँदा अनुगमनको पाटो ठ्याक्कै रोकिएको छ । विद्यालय कसरी सञ्चालन भइरहेका छन् ? विद्यालयभित्रका समस्या के छन् ? कक्षा कोठाभित्रको पठन–पाठनको अवस्था कस्तो छ ? जस्ता विषयमा यतिबेला स्थानीय तहका शिक्षा निकायहरू बेखबर छन् ।

मध्यपुर थिमि नगरपालिकाका शिक्षा प्रमुख बालकृष्ण गैरेले विद्यालयमा अनुगमन गर्न जान भ्याएका छैनौँ भन्दै थप्नुभयो, “जम्मा दुई जना कर्मचारी छौँ । दिनभरि कार्यालयभित्रै बस्नुपर्ने अवस्था छ । कार्यालय छोड्न नपाइने स्थितिले गर्दा अनुगमनमा समस्या परेको छ । ” कुपण्डोलको प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्य घिमिरेले स्थानीय तहलाई निरीक्षण गर्न आइदिनुप¥यो भनेर धेरैपटक आग्रह गरिएको बताउँदै थप्नुभयो, “हामीले के काम गरेका छौँ, कस्तो पढाइरहेका छौँ, हाम्रा गतिविधि कसरी सञ्चालन भइरहेका छन् भनी अनुगमन गर्न अनुरोध गरिरहेका छौँ । स्थानीय तहबाट अनुगमनका लागि आउनसक्नुभएको छैन । ” समस्या देशभरिकै छ । विगतमा विद्यालय निरीक्षक र स्रोतव्यक्तिको व्यवस्था थियो । अब दुवै पद खारेज भइसकेका छन् । कर्मचारी अभावले स्थानीय तहका शिक्षाका कर्मचारीहरू विद्यालयभित्र पुग्न सकेका छैनन् भने साविकको जिल्ला शिक्षा कार्यालय (हाल शिक्षा विकास तथा समन्वय एकाइ)का कर्मचारीहरूले अनुगमनको दायित्व आफूहरूको नभएको बताउँदै आएका छन् ।

काठमाडौँको समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले अनुगमनको जिम्मा आफूहरूको नरहेको र स्थानीय तहले अनुरोध गरेमा अनुगमन गरिदिन सक्ने भए पनि त्यस्तो अनुरोध नआएको बताउनुभयो । केही विद्यालयमा कहिलेकाहीँ स्थानीय तहका कर्मचारी झुलुक्क देखिन्छन् तर उनीहरू कक्षा कोठाभित्र प्रवेश नै नगरी बाहिरिने गरेका छन् । काठमाडौँ वन्डेस्थित सरस्वती निकेतन माविका प्रधानाध्यापक रवीना महर्जनले धेरै कालपछि हालै काठमाडौँ महानगरपालिकाबाट कर्मचारी अनुगमनका लागि आएको र उनले शिक्षकहरूसँग परिचय गरेर फर्किएको बताउँदै भन्नुभयो, “शिक्षकसँग परिचय गरेर अनुगमनको अर्थ रहँदैन । हामीलाई शिक्षण सुधारका बारेमा सुझाव दिने अनुगमन चाहिएको छ । ”

दिङको थाक्रे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आफू प्रशासनिक काममा व्यस्त हुनुपरेकाले विद्यालयभित्र प्रवेश नै गर्न नपाएको बताउनुभयो । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले तीन जना कर्मचारी भएकाले अनुगमनमा समस्या परेको बताउँदै तैपनि भ्याएजति गएका छौँ भन्नुभयो । चाँगुनारायण नगरपालिकाका शिक्षा प्रमुख वीरबहादुर खड्काले सघन अनुगमन गर्न कार्ययोजना बनाउन थालिएको जानकारी दिनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले विद्यालय निरक्षणको विषय अन्योलमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा पालिकामा एक जना अधिकृत रहेको अवस्था छ । त्यति कर्मचारीका भरमा अनुगमन हुन कठिन हुन्छ । कर्मचारीकै समस्याले अनुगमन कार्य हुन सकेको छैन । ”