अनुशासन समितिमा देउवा र शेखर कोइरालाविरुद्ध उजुरी

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र सभापतिका सम्भावित उम्मेदवार मानिएका शेखर कोइरालाविरुद्ध उजुरी परेको छ । यद्यपि दुवैका सम्बन्धमा समितिले कुनै निर्णय गरेको छैन । सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो । देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए । यद्यपि चुनावी तालमेल राजनीतिक निर्णय भएको भन्दै यो उजुरी पेन्डिङमा राखिएको छ ।

यस्तै शेखर कोइरालाविरुद्ध पनि उजुरी परेको छ । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो । कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि. सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ । अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पनि सभापति देउवासँगै कोइरालाविरुद्ध उजुरी परेको स्वीकार गरेका छन् । उनले भने, ‘निवेदन आएको थाहा पाएको छु, तर समितिको बैठक बस्न नपाएकाले त्यसबारे कुनै छलफल भएको छैन ।’