३१ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीद्वारा बरामद

प्रकाशित मिति:

पुनहरि बेल्बासे /भैरहवा – अबैधरुपमा भन्सार छली गरेर ल्याउँदै गरेका सामान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. (रा.भ.सु.) रुपन्देहीबाट सप्रनाउ गोविन्द बहादुर खातीको कमाण्डमा खटि गएको गाडी मोवाईल टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि अवैध रुपमा चोरी पैठारी गरी दिल्लीबाट बुटवल तर्फ आउँदै गरेको लु.१ ख. ६६४९ नम्बर को नेपाल– भारत –दिल्ली बुटवल) चल्ने यात्रु बाहक बसमा फल्सबटन बनाई लुकाई छिपाई भारतबाट नेपालतर्फ अवैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको विभिन्न किसिमका लत्ता कपडाहरु भन्सार मुल्य रु.६,५०,२५०। (छ लाख पचास हजार दुई सय पचास) बराबरको र ढुवानीमा प्रयोग गरिएको सवारी साधनको भन्सार मुल्य रु. २५,००,०००। (पच्चिस लाख) समेत गरी जम्मा भन्सार मुल्य रु. ३१,५०,२५०। (एकतिस लाख पचास हजार दुई सय पचास) सहित पक्राउ गरेको छ ।

बसमा लुकाइछिपाइ ल्याइएका सामानहरु चुन्नी ७० पिस, ट्राउजर ३७ पिस, ब्रा पेन्टी सेट ९ पिस, ब्रा २४ पिस, पार्टी ब्लाउज २० पिस, लेहङ्गा ५८ पिस, साडी ३६ पिस, टप्स ४९२ पिस, टप्स ट्राउजर सेट २०४, लेडिज सुट ३४३ पिस रहेको सप्रनाउ गोविन्द बहादुर खातीले जानकारी दिए । बस चालक स्याङ्जा जिल्लाको गल्याङ १ मालुङगा बस्ने ३६ वर्षिय राजु सुनार, सहचालक सोही ठाउँकै २५ वर्षिय यमबहादुर सुनार लाई पनि पक्राउ गरीएको छ । प्रकाउ पर्ने व्यक्ति दुवै जनालाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।