स्थानीय तहमा लक्षित वर्गलाई वजेट अपर्याप्त

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – लक्षित वर्गको सशक्तिकरण र उत्थानका लागि स्थानीय तहमा विनियोजन गर्ने गरिएको बजेट अपर्याप्त रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको ‘स्थानीय तहको बजेटमा लक्षित वर्गको अवस्था र पहुँच’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्तीमगर (बसन्त)ले स्थानीय तहको बजेटमा लक्षित वर्गको पहँुच पुग्न नसकेको बताए । देशले संघीयताको अभ्यास गरिरहेको सन्दर्भमा लक्षित समूहलाई स्थानीय सरकारको अनुभूती दिलाउनु पर्ने उनको धारणा थियो । गरिब, विपन्न, अल्पसंख्यक लगायत लक्षित वर्गको स्थानीय सरकारसम्म पहुँचको लागि स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

महिला, समावेशी समानुपातिक र अल्पसंख्यकको प्रतिनिधित्व गरेर जुनसुकै तहको सरकारमा पुग्ने उनीहरुका प्रतिनिधिहरुले उनीहरुकै आवाज राख्न नसक्नु दुर्भाग्य रहेको उनको भनाई छ ।  भौतिक पूर्वाधार बाहेक स्थानीय समुदाय, सभ्यता,संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासलाई पनि विकासको रुपमा स्वीकार गर्न नसक्ने स्थानीय सरकारका नेतृत्व गर्नेहरुबाट परिवर्तनको आशा गर्न नसक्ने कुरामा सहभागीहरुको जोड थियो । स्थानीय तहमा बजेट परिचालनको अवस्थामा सन्तोष गर्ने ठाउँ नभएकोमा स्वयं स्थानिय तहका जनप्रतिनिधिहरुको गुनासो छ । लक्षित वर्गको बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनका लागि एक आपसमा समन्वयको खाँचो समेत उनीहरुले औंल्याए ।

नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टाले अवधारणा पत्र प्रस्तुत गरेको कार्यक्रममा सिद्धार्थनगर कार्यपालिका सदस्य सुबोध तुलाचन, देवदह नगर कार्यपालिका सदस्य बन्धु कुमाल, अन्तरक्रियामा कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामु,कञ्चन गाउँपालिका वडा नं–१ का सदस्य हरिनारायण चौधरी, थकाली सेवा समितिका केन्द्रिय कोषाध्यक्ष शिबप्रसाद शेरचन, नेपाल आदिवासी जनजाति महासंघ सैनामैना नगर अध्यक्ष मोतीप्रसाद राना, महासंघकै बुटवल नगर सचिव शम्भु मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर सचिव चित्रप्रसाद गुरुङ, नेवा पुचः बुटवलका अध्यक्ष काजीमान श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रम महासंघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर तामाङको स्वागत तथा सचिव चित्रप्रसाद तुलाचनको सञ्चालनमा सम्पन्न भएको थियो ।