विषादी जाँच नगर भने पनि गर्छौं, झन धेरै गर्छौं : कृषिमन्त्री खनाल

प्रकाशित मिति:

चितवन- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी जाँच गर्ने कार्य यसअघि पनि भएको र अहिले पनि निर्नतर चलिरहेको बताएका छन्। नेपाल भेटेरेनरी एसोसियसनको वार्षिक साधारण सभाको आज चितवनको भरतपुरमा उद्घाटन गर्दै मन्त्री खनालले भारत तथा तेस्रो मुलकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणलाई आगामी दिनमा निर्नतरता दिइने स्पष्ट पारे।

‘भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त। तर, हरेक नाकामा अनिवार्य चेक गर्नु भनिएकाले मात्र बहसको विषय भएको हो,’ उनले भने, ‘जाँच त भएकै थियोे। त्यसलाई निरन्तरता दिएका छौं, दिन्छौं। जाँच नगर भने पनि गर्छौं। झन धेरै गर्छौं। जनताको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ। जनताको स्वास्थ्यमा खेलवाड गर्न दिन्नौं।’

उनले पिछडिएको र हेपिएको क्षेत्र भनिए पनि कृषिमा निराशा मात्र नभई आशा गर्ने ठाउँसमेत रहेको धारणा राखे। कृषि र पशुपंक्षीको क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको जिकिर गर्दै मन्त्री खनालले भने, ‘तर, भने जस्तो उत्पादन हुन सकेको छैन।’ मन्त्री खनालले यसपटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको बताए। उनले राज्यका कानुनको कार्यान्वयनमाथि समेत प्रश्न उठाए। ‘राज्यले कानुन बनाएर मात्र हुन्न, कार्यान्वयन महत्त्वपूर्ण विषय हो। हामीसँग भएका सबै कनुन पूर्णरुपमा कार्यान्वयन गर्ने हो भने केही समस्या हुन्न,’ उनले भने, ‘निति सहि भए व्यक्ति परिवर्तन हुँदा पनि पछिसम्म विकासले गति लिन्छ।’