छमछमीमा पुष्पालाई जिताउन अपील

प्रकाशित मिति:

बुटवल –राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’को चौथो संस्करणको उत्कृष्ट १२ जनामा बुटवलकी पुष्पा घिमिरे क्षेत्री पुग्न सफल भएकी छन् । प्रदेश ५ का १२ जिल्लामध्ये रुपन्देहीबाट प्रतिनिधित्व गर्दै सो प्रतियोगितामा पुग्न सफल पुष्पा प्रदेशकै एक्ली प्रतियोगी हुन् । देशका विभिन्न १० शहरमा भएको अडिसनमा सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै पुष्पा उत्कृष्ट १२ जनामा पुगेकी हुन् ।

अब भोटिङ राउण्ड शुरु भएकाले प्रतियोगितामा अघि बढ्दै विजेता बन्न दर्शकको भोट आवश्यक पर्ने भएकाले भोटिङ गरेर जिताउन पुष्पा जिताऔं अभियानले सबैसंग अपील गरेको छ । पुष्पा बुटवल वडा नंं ११ सिरानगाउं मजुवाकी बासिन्दा हुन् । घरको आर्थिक अवस्था कमजोर रहेका कारण नृत्य प्रतिभा राम्रो हुंदाहुंदै पनि उनलाई अघि बढ्न बाधा–अवरोध भएकाले छमछमीमा जिताउन सके उनको भविष्य उज्ज्वल बन्ने बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । प्रतिभा र कला हुंदा हुंदै बुटवलका धेरै प्रतियोगीहरुले भोटिङका कारण हार्नुपर्दा बुटवलले नै हारेको हुने भएकाले यसपटक पुष्पालाई जिताउनुपर्ने उनको भनाई छ । स्थानीय राजनीतिक अगुवा महेन्द्र अर्यालले देश विदेशमा रहेका नेपालीले एसएमएस भोट वा आर्थिक सहयोग गरेर पुष्पालाई जिताउन अपील गरे ।

कक्षा ५देखि नै नृत्य प्रतियोगिताहरुमा भाग लिंदै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी पुष्पा लगनशील र संघर्षशील प्रतिभा भएकाले उनलाई जिताउन गायक नारायण सारु मगर संयोजक रहेको प्रचार प्रसार समिति र आर्थिक लगायत अन्य विभिन्न समितिहरु बनेका छन् । उक्त समितिले स्कूल कलेजहरुमा व्यानर,पर्चा पम्पलेट वितरण,युट्युब,फेसबुक पेज लगायतका सामाजिक सञ्जालमार्फत पनि पुष्पालाई जिताउन अपील गरिएको सारुले बताए । बुटवल माविबाट कक्षा १० र सिद्धार्थ गौतम क्याम्पसबाट १२ कक्षा उत्तिर्ण गरेकी पुष्पा स्थानीय एक कला केन्द्रमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएकी छन् । ‘पुष्पाले नृत्यमा केही गरेर देखाउन चाहन्छिन्,त्यसका लागि उनलाई सबैको भोटिङ र साथको खांचो छ’–पुष्पाकी फुपु सीता पौडेलले भनिन् । पुष्पालाई भोटिङ गर्न मोबाइलको म्यासेज बक्समा गई अंग्रेजी अक्षर सी सी टाइप गरी स्पेस शुन्य ६ टाइप गरी ३१००९ मा पठाउनुपर्ने पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले जानकारी दिए । भोटिङ प्रत्येक शनिबार राति १० बजेदेखि बिहीबार बिहान १०बजेसम्म गर्न सकिने सारुले बताए । पुष्पालाई जिताऔं अभियानले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा पत्रकार हरिष ढकालले प्रतियोगितालाई स्वच्छ र मर्यादित बनाउन ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम बनाइएको जानकारी गराए । पत्रकार सम्मेलनको सञ्चालन विशाल क्षेत्रीले गरेका थिए ।