पौडेल हत्याका योजनाकार मनोज पुनका सहयोगी दंगोरिया पक्राउ

प्रकाशित मिति:

सबलपोस्ट बुटवल /देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकार रहेका मनोज पुनका मुख्य सहयोगी ओमप्रकाश दंगोरिया थारु पक्राउ परेका छन् । २०७४ साल चैत ९ गते देवदह ४ भवानीपुरमा पौडेललाई गोली प्रहार गरी भएको हत्यामा संलग्न चौधरी फरार रही भारतको नौतनवामा लुकेर बस्दै आएका थिए । रुपन्देही प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सीमा क्षेत्र बेलहियामा ल्याई शुक्रबार उनलाई पक्राउ गरेको हो ।

देवदहमै युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनसंग मिलेर बसन्त पौडेलको हत्याको योजना बनाउन दंगोरियाको संलग्नता रहेको थियो । पौडेललाई हत्या गर्न हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने कार्यमा दंगोरियाको संलग्नता देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्म भण्डारीले बताए । यसका साथै ओम प्रकाश चौधरीले रुपन्देहीको तिलोत्तमका रमेश चौधरी लगायतलाई समेत लुटपाट गरी फरार रहेका थिए । आफुसंग १७ तोला सुनका गहना भएको र उक्त गहना बेचबिखन गर्नु पर्ने छ भन्दै रुपन्देहीको सम्मरीमाई गाउपालिका थुमुवामा बोलाई आफ्ना साथमा रहेको नगद १० लाख रुपैया समेत लुटेर लगेको अभियोग पनि उनीमाथि थियो । थारुले २०६५ सालमा रुपन्देहीकै ब्यवसायी शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाई लुटपाट गर्ने प्रयत्न गरेको समेत उजुरी परेको थियो ।