उपवासको धार्मीक संगै विज्ञानीक महत्व

प्रकाशित मिति:

तपाईं साउनमा उपवास बस्नुहुन्छ, खासगरी सोमबारको दिन । साउनको सोमबार उपवास बस्नुसँग धार्मिक आस्था जोडिएको छ । यद्यपी साउनको महिना अझ भनौ मध्य वषरयाममा उपवास बस्नु भनेको स्वास्थ्य लाभ लिनुपनि हो ।  साउनको महिनालाई भक्ति आरधानाको महिना भनिन्छ । यतिबेला पूजापाठ गर्ने, मठमन्दिर धाउने, भजन किर्तन गर्ने गरिन्छ । साथै सात्विक भोजन अपनाइन्छ । अर्थात माछामासु, मदिरा, मसलेदार परिकार त्यागिन्छ । सादा, सुपाच्य, शाकाहारी भोजन सेवन गरिन्छ । हप्तामा एक पटक उपवास बसिन्छ । कतिपयले ताजा फलफूल खाएर उपवास बस्छन् भने कतिपयले केहीपनि खाँदैनन् । वास्तवमा यी सबै शरीर र मनलाई शुद्धिकरण गर्ने विधी हुन् ।

त्यसैले उपवास बस्दैमा आफ्नो मनोकामना पुरा हुन्छ, धर्म प्राप्त हुन्छ भनेर सोच्नु भ्रम हो । आफ्नो कामना पुरा गराउन दिनभर खाली पेट बस्ने र धुपबात्ती बाल्ने काम त्यसबेला आडम्बर हुन्छ, जब यसलाई विधीपूर्वक सम्पन्न गरिदैन । उपवासको व्यापक अर्थ छ । उपवास बस्नुसँग शरीर र मनको सम्बन्ध पनि गहिरो छ । जब हामी उपवास बस्छौं, हाम्रो शरीरले यसबाट प्रत्यक्ष लाभ लिन्छ । पाचन यन्त्रले विश्राम पाउँछ । अन्य दिनमा खाएकै खानेकुराले हाम्रो शरीरलाई उर्जा दिइरहेको हुन्छ । त्यसैले एक दिन भोको पेट बस्दैमा हामीलाई कुनै किसिमको हानी हुँदैन । यद्यपी शारीरिक श्रम गर्नुपर्ने वाध्यत्मक अवस्थामा चाहि उपवास त्यती उपयोगी नहोला ।

उपवास बस्दा हाम्रो पाचन यन्त्रले विश्राम पाउँछ । शरीरमा विषाक्त पदार्थ जम्न पाउँदैन । शरीरको शुद्धिकरण हुन्छ । उपवास बस्नुअघि नुहाउने, सरसफाई गर्ने, धूपवात्ती बाल्ने गरिन्छ । भगवानको नाममा पूजापाठ गरिन्छ । यसरी भक्तिभावमा लागेपछि हामीलाई खानाको तलतल लाग्दैन । मन वेचैन हुँदैन । पूजा आराधाना गरिरहँदा मन शान्त हुन्छ । यतिबेला हामी भगवानप्रति भक्तिभाव राख्छौं । यसले हामीमा कृतज्ञता र समर्पण जगाउँछ । उपवास बस्नु भनेको सपर्मण पनि हो । त्याग पनि हो । हामीले एक दिनको छाक त्यागेर पनि प्रशन्न रहन्छौं । खाना नखाएर पनि दिनभर हामी हाँसीखुसी नै रहन्छौं । किनभने उपवासले हामीमा समर्पण भाव पैदा गरेको हुन्छ ।त्यसैले उपवासमा शरीर र मन दुबै जोड्न सक्नुपर्छ । उपवास किन बस्ने रु कसरी बस्ने भन्ने विधी पालना गर्नुपर्छ ।

शरीर र मनको शुद्धिकरण गरिने भएकाले उपवास गर्नुअघि र गरिसकेपछि अपच हुने खानेकुरा सेवन गर्नु हुँदैन । यदि मासु, मदिरा वा मसलेदार खाना खाइयो भने उपवासबाट खास लाभ मिल्दैन । उपवास बस्नुअघि पनि हल्का वा सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । साथै उपवास बसिसकेपछि हल्का झोलयुक्त खानेकुराबाट खानपान सुरु गर्नुपर्छ । एकै पटक धेरै बोझिलो हुने खानेकुरा सेवन गर्नु हानिकारक हुन्छ । त्यसैले एक दिन छाक छाड्दैमा केही हुँदैन । यद्यपी महिनाभर सात्विक एवं सुपाच्य खानेकुरा सेवन गर्ने, हप्ता दिनमा एक पटक उपवास बस्ने गर्नु चाहि बढी प्रभावकारी हुन्छ । उपवास बसिरहँदा नकारात्मक भाव मनमा आउन दिनुहुँदैन । मनलाई सकारात्मक र खुसी तुल्याउनुपर्छ । रिस, द्वेष, घमण्ड, अहंकार, लोभ, वासना त्याग्नुपर्छ । यसरी मन र शरीरलाई शुद्धिकरण गरेर मात्र उपवास सार्थक हुन्छ ।