न्युयोर्कमा ट्याक्सी चालक काम असुरक्षित बन्दै, फेरी अर्को ट्याक्सी चालकको गोली हानी हत्या

प्रकाशित मिति:

गत २६ तारिख शुक्रबार न्युयोर्क ब्रुकलिनस्थित ईस्ट न्युयोर्कको सडकमा एक पेसेन्जर कार लिब्री कार ड्राईभर युवाको लास सडकमा लडिरहेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार भ्याली स्ट्रिममा बसोबास गर्दै आएका २९ वर्षिय नोमन सलेमीको लास टाउकोको पछिल्लो भागमा गोली हानिएको अवस्थामा फेला परेको हो । शुक्रबार बिहान करिब ३ बजे ईस्ट न्युयोर्कको एटलान्टिक एभेन्यु र विलियम एभेन्युको इन्टर्सेक्सनमा सलेमीको लास फेला परेको प्रहरीले संचार माध्यमलाई बताएको छ । न्युयोर्कस्थित अधिकांश आप्रबासीले गर्दै आएको ट्याक्सी ड्राईभरको काम २ दिन पछि छोडेर फर्माक्युटिकल कम्पनीको नयाँ जागिर सुरु गर्ने तयारीमा रहेका पाकिस्तानी मुलका सलेमीको अर्को जागिर खाने धोको पुरा नहुँदै समाप्त भएको एबिसि ७ न्युयोर्कले लेखेको छ ।

सलेमीको वालेट लास भेटिएको ठाउँ भन्दा ५ ब्लक पर फेला परेको छ भने उनले पेसेन्जर बोक्दै आएको अल्टिमा गाडी चोरी भएको छ । प्रहरीले यो बिषयमा सुचना उपलब्ध गराउनेलाई ५ हजार अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ । सुचना प्रहरी हटलाईन १(८००(५७७(८४७७ मा उपलब्ध गराउन सकिने छ । सलेमीले “एब्रिव्हेर कार सर्भिस” मार्फत काम गर्दै आएका थिए ।पछिल्लो समय न्युयोर्कमा ट्याक्सी ड्राईभिङ व्यवसाय असुरक्षित बन्दै गएको छ ।२ हप्ता पहिले न्युयोर्क शहरमा २५ वर्षिय एक ट्याक्सी चालक लुटेराको गोलीले मारिएका थिए । गत जुन महिनामा पनि न्युयोर्कको रकल्यान्ड काउन्टीमा एक ट्याक्सी चालक गाडी भित्रै गोली लागेको अवस्थामा मृत भेटिएका थिए ।

श्रोत : एबिसि ७ न्युयोर्क