जनजाति महासंघद्वारा विरामीलाई फलफूल वितरण

प्रकाशित मिति:

बुटवल,१८ साउन । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । महासंघले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा दुई सय आठजना, भीम अस्पताल भैरहवामा ६० जना र जेनस अस्पताल बुटवलमा भर्ना भएका ३० जना विरामीलाई छुट्टाछुट्टै कार्यक्रम गरी फलफूल वितरण गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा भएको कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खानले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजातिहरुको योगदान र भूमिका महत्वपूर्ण भएपनि शासन सत्ता र अवसरमा पछाडि पारिएकाले हक अधिकारका लागि अझै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारले सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा जनजाति अगुवाहरुले सुस्ताएको जनजाति आन्दोलनलाई नयां ढंगले उठाउनुपर्नेमा जोड दिए । लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावना तथा समावेशीता एवं आरक्षणको सिद्धान्त विपरित भएकाले उक्त विज्ञापन विरुद्ध सबै आदिवासी जनजाति एक हुनुपर्नेमा सासद खानले सुझाव दिए । कार्यक्रममा अस्पतालका मेसु डा. कृष्ण खनाल,महासंघका अध्यक्ष शंकर गाहा,कार्यक्रम संयोजक इन्द्र राई,महासंघका सचिव चित्रलाल तुलाचन लगायले आआफ्ना भनाई राखेका थिए । भीम अस्पतालको कार्यक्रममा समाजसेवी सूर्य सारु मगर,जेनस अस्पतालको कार्यक्रममा महासंघका पुर्व अध्यक्ष दलबहादुर छन्त्याल,डा.मोहन सिंह,डा.बबिता,डा. थानेश्वर पहाडी लगायतले मन्तव्य राखेका थिए । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस अन्तर्गत महासंघले १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते ड्राइभरटोलदेखि गोलपार्क हुँदै थकालि सेवा समाजको भवनसम्म भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गर्दैछ । दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत ¥याली सहित सभाको आयोजना गरिने कार्यक्रम छ ।