न्युयोर्कमा तामाङ भाषा प्रशिक्षक प्रशिक्षण शुरु

प्रकाशित मिति:

न्युयोर्क । वरिष्ठ भाषाविद् अमृत योन्जन तामाङले न्युयोर्कस्थित तामाङ अगुवाहरुलाई तामाङ भाषा के कसरी दोश्रो पुस्तालाई सिकाउने भन्नेबारेमा प्रशिक्षण शुरु गरेका छन् । तामाङ समाज अमेरिकाको आयोजनामा यही जुलाई ३० तारिकबाट प्रशिक्षण शुरु भएको हो । अगष्ट ११ तारिकसम्म संचालन हुने प्रशिक्षक प्रशिक्षण तालिमबाट आवश्यक भाषा प्रशिक्षकहरु उत्पादन गर्ने र दोश्रो पुस्तालाई तामाङ मातृभाषाबाट शिक्षित गर्ने उद्देश्य रहेको तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले बताएकी छन् ।

नेपालबाट आइपुग्ने आखे, मेमे र मम् लाई आफ्नै मातृभाषामा नातिनातिनीसँग सम्बाद गर्न सहज होस् भनेर संस्थाले प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको र यी प्रशिक्षकहरु मार्फत दोश्रो पुस्तालाई आफ्नो मातृभाषा सिकाउने संस्थाको भावी कार्यक्रम रहेको अध्यक्ष तामाङले बताइन् । संस्थाकै उपाध्यक्ष सुमित्रा योन्जनले तामाङ भाषाको प्रशिक्षक प्रशिक्षण तालिम लिन पाउँदा धेरै खुशी लागेको र यही हुर्किंदै गरेका युवा पुस्तालाई आफ्नो मातृभाषा सिक्न प्रोत्साहन गर्ने ईच्छा रहेको धारणा राखिन् ।संस्थाका महासचिव बुद्दिमान तामाङले प्रशिक्षण कार्यक्रमले प्रवासमा तामाङ भाषाको विकास र प्रवर्द्धन गर्नुको साथै दोश्रो पुस्तालाई मातृभाषा सिकाउन भबिष्यमा श्रोत व्यक्तिको कमी नहुने बताए । आफ्नो मौलिक भाषा र संस्कृति दोश्रो पुस्तालाई हस्तान्तरण गर्दै स्थानीय आवश्यकता अनुसार सामाजिक गतिविधि मार्फत डायस्पोराको विकासमा तामाङ समाज अमेरिका प्रतिबद्द रहेको उनले बताए ।

तामाङ समाजका बोर्ड सदस्य तथा नाङसाल स्कुलका कार्यकारी निर्देशक तुलबहादुर तामाङ भन्छन्, “नाङसाल स्कुल मार्फत हामीले यहाँ जन्मिएका स- साना भाइबहिनिहरुलाई नेपाली भाषाको आधारभूत शिक्षा दिइरहेका छौ भने अब तामाङ मातृभाषाको कक्षा पनि चाडै नै संचालन गरिनेछ । केटाकेटीहरुलाई सिक्ने उमेरमा जति धेरै भाषा सिकायो भबिष्यमा उनीहरुलाई उति नै लाभ हुन्छ ।”