राजाको गुलामी गर्ने दलालहरु अहिले सिस्टम नै फेर्नु पर्छ भन्दै हिँडेका छन् : प्रचण्ड

प्रकाशित मिति:

रामचन्द्र वि.क/रामेछाप – नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजा महाराजको गुलामी गर्ने दलालहरुले अहिले सरकार हैन सिस्टम नै फेर्नु पर्छ भनेर जनता माझ गलत कुराको प्रचार गर्दै हिड्न थालेको आरोप लगाउनुभएको छ । ११ वर्ष अघि निर्माण कार्य सुरु भई हालै सम्पन्न भएको सिन्धुली रामेछाप जोड्ने खैरेनीघाटको पक्की पुल उद्घाटन सत्रलाई आइतबार संवोधन गर्दै अध्यक्ष दाहालले निर्वाचन भएको दुई वर्ष नपुग्दै जिन्दगी भरी तानाशाही र दलालीको चाकडी गर्नेहरु संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पर्ने गरी अहिले गलत प्रचारमा लागेको आरोप लगाउनु भएको हो ।

गाउँको विकास नचाहानेहरुले त्यस्तो बकपास बोलेर हिडे पनि सात दशक लगाएर हजारौ जनताको बलीदानीबाट आएको परिवर्तन कुनै पनि हालतमा परिवर्त नहुने पनि दाहालले ठोकुवा गर्नुभयो । जनताको भावना अनुसार आएको संविधानको मूल मर्म नै परिवर्तन गरेर सिस्टम नै परिवर्तन गर्नु पर्छ भनेर दिवा सपना देख्नेहरुको सपना कुनै पनि हालतमा पुरा नहुने अध्यक्ष प्रचण्डले दाबी गर्नुभयो । अहिले संघिय लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पार्न लागी परेका केही दलालहरुलाई तीन करोड जनताले तह लगाउने समेत उहाँले बताउनुभयो ।

अहिलेको तीन तहको सरकारले जनताका आवश्यकतालाई ध्यानमा राखेर युद्धस्तरमा काम गरी रहेको भए पनि चाहे जति काम गर्न अझै बाँकी रहेकाले ती काम पूरा गर्न सरकारले सबै शक्ती प्रयोग गरेर अगाडी बढीरहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । अध्यक्ष प्रचण्डले लामो सयमा पछि निर्माण कार्य सम्पन्न भएको पक्की पुलले रामेछाप र सिन्धुलीको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको ईतिहास देखि आधुनिक विकासलाई समेत नजिक बनाउनेमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।