गण्डकी अस्पतालमा अख्तियारको छापा

प्रकाशित मिति:

पोखरा – पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा अख्तिायारको टोलीले छापा मारेको छ । एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतबार अस्पतालमा छापा मारेको हो । अख्तियारको टोलीले अस्पतालबाट केही कागजात पनि नियन्त्रणमा लिएको छ । अस्पतालले गएको साल नै खरिद गरी करिब ७ महिना अगाडि नै एमआरआई मेसिन सञ्चालन गरेको थियो । मेसिन खरिद र सामाजिक इकाई सञ्चालन गर्न आर्थिक लेनदेनका आधारमा जिम्मा दिइएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो । आइतबार मेसिन खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिइएको छ । उपकुलपति डा.वुद्धिबहादुर थापा काठमाडौं रहेकाले सामाजिक इकाई सञ्चालन जिम्माबारे कागजात भने अख्तियारले नियन्त्रणमा लिन पाएन । उपकुलपति थापाले कागजात राखेकाले कागजात प्राप्त गर्न नसकिएको अख्तियारले जानकारी दिएको छ ।

अस्पताल व्यवस्थापन समितिलाई बाइपास गरेर मूल्यांकन समितिले आर्थिक प्रलोभनमा सामाजिक सेवा सञ्चालनको जिम्मा असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिइएको उजुरीमा उल्लेख छ । डा. नरेन्द्रबिक्रम गुरुङको संयोजकत्वमा गठित मूल्यांकन समितिले आर्थिक लेनदेन गरेर अनियमित ढैगले गोनेसालाई इकाई सञ्चालनको जिम्मा लगाइएको आरोप छ । अस्पतालका निर्देशक निर्देशक अर्जुन आचार्यले भने त्यस्तो कुनै पनि आर्थिक अनियमितता नभएको बताउँछन् । ‘एमआरआई मेसिन गएको साल नै खरिद गरेर ७ महिनाअघि नै सञ्चालनमा आएको हो ।

त्यस्तो कुनै पनि आर्थिक अनियमितता भएको छैन । भएको भए अनुसन्धानले देखाउला,’ आचार्यले भने, ‘इकाई सञ्चालनको विषयमा पनि कुनै अनियमितता भएको छैन । उजुरी पर्दैमा भ्रस्टाचार नै भएको हुँदैन ।’ अनियमितताबारे उजुरी र अन्य सूचनाका आधारमा अस्पतालको कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । यही असार २३ गते सार्वजनिक सेवा इकाई सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको थियो । गोनेसासहित ४ संस्थाले सञ्चालनका लागि आवेदन हालेका थिए ।-अनलाइनखबर