कमल प्रसाद पंगेनी र उनको सरलपन ।

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे – एका विहानै खवर फैलियो लौ कमल पंगेनीको त हृदयघातको कारण निधन भयो रे, सुन्दै अपत्यारिलो र उदेक लाग्दो खवरले स्याङजाका जनता मात्रै होईन पंगेनीलाई चिन्ने सवै देशभरका व्यक्तीहरु अचम्ममा परे । हकी स्वभावका पंगेनी उतिकै मिजासिलो र मिठो वोल्ने नेताका रुपमा समेत चिनिनुहुथ्यो । नेपाली कांग्रेस स्याङजाको सभापतिको रुपमा तेस्रो कार्याकाल समालिरहेका पंगेनी, निधनको अघिल्लो दिन पनि नेता कार्यकर्ता भेटघाटमा नै व्यस्त रहनुभएको थियो । कांगे्रस भिरकोट नगर सभापति तोयानाथ अर्यालको घरमा सुतेका पंगेनी विहान अचेत अवस्थामा भेटिए पछि नजिकैको कालिका सामुदायिक अस्पतालमा लगिएको थियो,अस्पताल पुर्याएको केहीवेरमा नै चिकित्सकले पंगेनीलाई मृत घोषणा गरेका थिए । अस्पतालवाट पंगेनीको पार्थिव शरिरलाई सदरमुकाम स्थित पार्टी कार्यालयमा लगिएको हो । नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला, केन्द्रिय सदस्यहरु शेखर कोइराला, गोपालमान श्रेष्ठ, धनराज गुरुङ्, देवेन्द्रराज कढेंल,गगनकुमार थापा ,प्रदिप पौडेल, पूर्व सांसद मोहन पाण्डे, कास्की कांगेस सभापति कृष्ण केसी,पाल्पा समापति विर वहादुर राना,गुल्मी सभापति भुवन श्रेष्ठ,रुपन्देही सभापति तथा पूर्वमन्त्री अव्दुल रजाक,नेविसंघ महान्त्री कुन्दन काफ्ले लगायतले श्रद्धान्जली अर्पण गरेकाथिए । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जली दिनका लागि काग्रेस कार्यकर्ता तथा विभिन्न पार्टीका नेताहरुको वाक्लो उपस्थिति रहेको थियो ।

जहाँ गंगा आरती र नाचगान गरे चौविस घण्टा नहुदै त्यही जलाईए – स्वर्गारोहणको अघिल्लो दिनभर पनि कार्यकर्ता भेटघाट र अनौपचारिक छलफलमा विभिन्न स्थानमा पुगेका पंगनी कालिगण्डकी किनार रामनदीधाम राम्दीमा पनि पुग्नु भएको थियो । सोही ठाँउमा सञ्चालित महायज्ञको भजनकिर्तनमा केहीवेर नाचेका पंगेनी भोलिपल्ट भने अर्थिको रुपमा त्यही ठाँउमा जलाइनु भएको हो । पंगेनीले साझ सात वजे देखि एक घण्टा मुख्य कर्ताको रुपमा गंगा आरती गर्नुभएको थियो । त्यती वेला नै पंगेनीले असहज महशुस गरेपछि गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो । विहान प्रदेश सांसद भागवत प्रकाश मल्ल,क्षेत्रिय सभापति अर्जुन प्रकाश अर्याल,कांग्रेस गल्याङ नगर सभापति श्याम प्रसाद बश्याल,जिल्ला सदस्य अर्जुन खनाल,नेविसंघका क्षेत्रिय सभापति धनराज पौडेल,व्यवशायी एवं काग्रेस नेता महेन्द्र श्रेष्ठ सहित पंगेनीले स्याङजाको मिर्मि तथा आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाट गर्नु भएको थियो । गाँउ—गाँउमा खिर,मकै,मही खादै र कार्यकर्ता भेट्दै हिड्ने क्रममा साझ मात्रै पंगेनी सहितको टोली राम्दी पुगेको थियो ।

पंगेनीको राजनितीक यात्रा -स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिनुभएको थियो । उहाँ संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा विजयी हुनु भएको थियो । २०६४ सालको पहिलो संविधान सभामा स्याङजा क्षेत्र नम्वर १ वाट उमेद्वार वनेका पंगेनी तत्कालिन एमालेसँग पराजित हुनुभएको थियो । राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य वन्नुभएको थियो । काँग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेताका रुपमा चिनिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा काँग्रेस सभापति वन्नु भएको हो । “पछिल्लो समय सभापति पंगेनी स्याङजा कांग्रेसलाई गुट—उपगुटको राजनितीवाट मूक्त गराउन सक्रिय रहनुभएको थियो” उहाँको यो क्रियाकलापलाई स्याङजा कांग्रेसका नेताले निरन्तरता दिन जरुरी छ । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

चुनावमा पराजित र विजेता वन्दा उस्तै क्षण – गत वैशाखमा प्रदेश सभाको लागि भएको चुनावमा पराजित भएपछि पंगेनीले तत्कालिन अवस्थामा देखाएको भद्र एवं शालिनतालाई सवैले अहिले पनि प्रशंशा गर्ने गर्दछन् । त्यतीवेला आफूलाई पराजित गर्ने तत्कालिन माओवादीका नेता दीपक चर्तिमगरलाई खादा र मालाले सम्मान गर्दै पंगेनीले भन्नुभएको थियो “लौ मेरो पनि प्रतिनिधित्व गरिदिनु होला” । प्रदेश सांसदमा चुनिन नसकेका पंगेनी पछिल्लो समय जिल्लाको संगठन विस्तारमा लाग्नुभएको थियो ।

विकासप्रेमी नेता जसको आफ्नै घर घडेरी केही छैन – स्वर्गिय पंगेनी कांग्रेस ईतरमा समेत लोकप्रिय मानिन्थे, कुनै विवाद पार्टीगत रुपमा मिलाउनु पर्दा पंगेनीको खाँचो खड्कने गर्दथ्यो । नेकपाका नेता पनि पंगेनीलाई सम्झदै भन्नछन् “उहाँ न्युन वर्गियको हितका लागि काम गर्ने नेता भएका कारण कम्युनिष्टहरुसँग उठवस र सहकार्य अत्यन्तै राम्रो थियो” । जिल्लाका समस्या समाधान गर्न तथा विकास निर्माणमा लागि पर्ने नेता जिल्लाले गुमाउनु पर्दा ठूलो क्षती भएको स्याङजावासीको भनाई छ । पंगेनीको परिवार भाडाको घरमा वस्दै आएको छ, उहाँको आफ्नै घर तथा कतै घडेरी समेत नहुनुले पनि उहाँ जनतको हितमा मात्रै काम गर्ने नेता भएको स्पष्ट हुन्छ ।नेता कमल पंगेनीको निधनले स्याङजा मात्रै नभएर समग्र देशलाई ठूलो क्षती भएको महशुस स्याङ्जाका जनताले अहिले पनि गरिरहेकाछन् । स्याङ्जाली जनताका असल मित्र,समाज परिवर्तनको एक सहयोद्धा र स्याङजाको विकासयात्राको एक सहयात्रीलाई गुमाउनु पर्दा अत्यन्तै पिडा भईहरको छ । पंगेनी एक जुझारु,सक्रिय र क्रियाशिल योद्धा समेत हुनुहुन्थ्यो । उहाँले शुरु गरेका काम तथा गतिविधिलाई निरन्तरता दिनु हामी सवैको दायित्व हुन आउछ । जो कोहीसँग पनि सुमधुर सम्वन्ध बनाउन सक्ने स्वर्गीय पंगेनीको आवश्यक्ता परिपूर्ती गर्न हामीले निक्कै मेहनत गर्न जरुरी छ । शरिर र बोली एक ठाँउमा भए पनि मन मिल्न नसकेका लोकतन्त्रवादी कांग्रेसीहरुको सच्चा मिलनेले मात्रै उहाँ प्रतिको वास्तविक सम्मान गरेको ठहरिनेछ । स्वर्गीय कमल प्रसाद पंगेनी प्रति हार्दिक श्रद्धासुमन ।